जनता टाइम्स

१६ मंसिर २०७८, बिहीबार ०५:५३

कांग्रेस महाधिवेशन : लुम्बिनी प्रदेश सभापतिमा भरत साह र अमर पुन प्यानलसहित मैदानमा उत्रिए


बुटवल, मंसिर १६ । नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको नेतृत्वका लागि दुई पक्षबीच भिडन्त हुने भएको छ । आजदेखि सुरू हुने लुम्बिनी प्रदेशको अधिवेशनमा सभापतिका लागि संस्थापन र संस्थापनइतर समूहबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो । लुम्बिनी प्रदेशका जिल्ला अधिवेशनहरूमा भने बरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइराला पक्षले अधिकांश सभापति जितेको छ ।

नवलपरासी पश्चिम, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, दाङ, प्यूठान, रोल्पा र रुकुम पूर्वमा पौडेल पक्षले सभापति जितेको थियो । रुपन्देही र बर्दियामा भने संस्थापन पक्षले सभापति जितेको थियो । बाँकेमा अझै अधिवेशन भएको छैन ।

कांग्रेसको लुम्बिनी प्रदेश सभापतिका लागि प्रतिनिधिसभाका सांसद भरतकुमार शाह र संविधानसभा सदस्य अमर पुनबीच प्रतिस्पर्धा हुने देखिएको छ । संसदको सार्वजनिक लेखा समितिका सभापति रहेका शाह देउवा पक्षबाट र पुन रामचन्द्र पौडेल पक्षबाट सभापतिमा उम्मेदवारी दिन लाग्नुभएको हो ।

शाहले आफ्नो जित निश्चित रहेको बताउनुभयो । पार्टीमा लामो समय काम गरेको र इमान्दारीपूर्वक काममा खटिएकाले कार्यकर्ताले आफ्नो निष्ठा र इमान्दारितामा विश्वास गर्ने शाहले बताउनु भयो ।

उता, अर्का उम्मेद्वार पुनले पनि आफ्नो जित निश्चित रहेको दाबी गर्नुभयो । आफूले जिते रोल्पा, रुकुम जस्ता संगठन कमजोर भएका जिल्लामा पार्टीको संगठनलाई मजबूत बनाउने पनि पुनले बताउनु भयो । प्रदेश अधिवेशनका लागि आज मंसिर १६ गते मतदाता नामावली प्रकाशन, १७ गते उम्मेदवारी दर्ता र १८ र १९ गते प्रदेशको अधिवेशन तोकिएको छ । प्रदेशको महामन्त्री पदमा भने भुवन श्रेष्ठ र विष्णु मुस्कानले उम्मेदवारी दिने तयारी गर्नुभएको छ । श्रेष्ठ गुल्मी कांग्रेसका निवर्तमान सभापति र मुस्कान अर्घाखाँचीका निवर्तमान सभापति हुनुहुन्छ ।