काठमाडौं, १८ मंसिर । साताव्यापी कार्यक्रमसहित राजधानीमा १३ औं मानव अधिकार राष्ट्रिय महाभेलाको आयोजना हुने भएको छ । शान्तिका लागि साझा अभियान (कोक्याप) द्वारा आज राजधानीमा आयोजित कार्यक्रममा ७३ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस (डिसेम्बर –१०) को सन्दर्भमा मङ्सिर २२ देखि २८ गतेसम्म सो महाभेलाको आयोजना गरिने जानकारी दिइएको हो । महाभेलाका लागि ‘विधिको शासन कायम गरौं, मानव अधिकारको सम्मान गरौं’ भन्ने नारा तय गरिएको छ ।
यस वर्ष राष्ट्रिय महाभेलाको आयोजना गर्न कोक्यापलाई संयोजक र फ्रिडम फर अल नेपाल र शान्ति फाउण्डेसनलाई सह–संयोजकका रूपमा जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा विभिन्न सङ्घ संस्थाको सहभागीतामा राष्ट्रिय महाभेलाको आयोजना हुँदै आएको छ । भेलाको आयोजनाको लागि हरेक वर्ष विभिन्न क्षेत्रमा काम गर्ने सङ्घ संस्थालाई संयोजक र सहसंयोजक तोक्ने व्यवस्था रहेको छ ।

कोक्यापका अध्यक्ष एवं राष्ट्रिय मानव अधिकार महाभेला मुल आयोजक समितिका संयोजक रोशना खड्काले यस महाभेलाको तयारीबारे जानकारी दिंदै भेलामा सहभागीताका लागि ३७ संस्थाले नाम दर्ता गरेको जानकारी दिनुभयो । उहाँले राजधानीमा आयोजना गरिने महाभेलामा विभिन्न सङ्घ संस्थाले कार्यक्रमसहित समुहगत छलफलसहित सहभागिता जनाएर मानव अधिकार र सुशासनका लागि प्रतिवद्धता जनाउने बताउनुभयो ।
कार्यक्रममा मानव अधिकारवादी चरण प्रसाईले वि.स. २०४६ पछि मात्र नेपालमा मानव अधिकारको सवालमा बोल्न र काम गर्ने वातावरण बनेको स्मरण गर्दै मानवअधिकार वादी संस्था तथा राष्ट्रिय मानव अधिकारलगायत व्यक्ति, समाजसहित हरेक संस्था यसको रक्षाका लागि तत्पर रहने सन्देश महाभेलाले दिने बताउनुभयो ।

उहाँले मानव अधिकारको रक्षा नै लोकतन्त्र हो भन्दै यसको रक्षा र पालना सबैबाट हुनुपर्ने महत्वपूर्ण सन्देश दिन हरेक वर्ष महाभेला आयोजना गर्न संयोजक र सहसंयोजकको जिम्मेवारी फरक संस्थालाई हस्तान्तरण गर्ने प्रक्रिया चल्दै आएको बताउनुभयो ।
सो अवसरमा महाभेलाका सहसंयोजक फ्रिडम फर अल नेपालका अध्यक्ष खगेन्द्र वलीले राष्ट्रका हरेक नागरिक मानव अधिकारका रक्षक हुन्, यसको प्रवद्र्धनका लागि सबैले आफ्नो स्थानबाट योगदान दिन सक्ने बताउनुभयो । मानव अधिकार, शान्ति, लोकतन्त्र, सुशासन र दिगो विकासका पक्षमा क्रियाशिल नागरिक सङ्घ, संस्था र मानव अधिकारकर्मी र राष्ट्रिय मानव अधिकार आयोगको संयुक्त पहलमा सन् २००९ देखि मानव अधिकार राष्ट्रिय महाभेलाको आयोजना हुदै आएको छ ।












प्रतिक्रिया दिनुहोस्