जनता टाइम्स

२ फाल्गुन २०७८, सोमबार १३:४०

एमाले द्वन्द्व चाहँदैन : शेरबहादुर तामाङ


काठमाडौं, १ फागुन । एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले आफ्नो पार्टी प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावलाई लिएर द्वन्द्व बढाउने पक्षमा नरहेको बताउनुभएको छ । नयाँबानेश्वरस्थित संसद भवनमा पार्टीको संसदीय दलको बैठकमा सहभागी हुन पुग्नुभएको नेता तामाङले महाअभियोगको प्रस्तावकोबारेमा एमालेले द्वन्द्व बढाउने पक्षमा नरहेको बताउनुभएको हो ।

कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)का सांसदले आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संघीय संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । यसपछि उत्पन्न राजनीतिक अवस्थाकोबारेमा छलफल गर्न अहिले एमाले संसदीय दलको बैठक बसिरहेको छ । तर, यसबारे एमाले द्वन्द्व बढाउने पक्षमा नरहेको नेता तामाङले बताउनुभएको हो ।

प्रधानन्यायाधीश जबराविरुद्ध ल्याएको महाअभियोग प्रस्ताव फिर्ता हुने सक्ने नेता तामाङको विश्वास छ । साथै दोस्रो पटक विघटित प्रतिनिधिसभा पुनर्स्थापित गर्न आदेश दिएका सर्वोच्च अदालतका चार न्यायाधीशविरुद्ध एमालेले महाअभियोग प्रस्ताव नल्याउने उहाँले बताउनुभयो । ‘सांसदहरूको हस्ताक्षर संकलन गरेको भए पनि चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने होइन,’ नेता तामाङले भन्नुभयो, महाअभियोगको प्रस्ताव ल्याउँदैनौँ । ’