जनता टाइम्स

३ फाल्गुन २०७८, मंगलवार १९:००

लमजुङमा उमेर नपुग्दै आमा बन्ने बढे, १५ वर्षका किशोरी आमा


लमजुङ, ३ फागुन । लमजुङमा उमेर नपुग्दै गर्भवती हुनेहरुको संख्यामा कमी आउन सकेको छैन । बेसीशहरस्थित जिल्ला अस्पताल लमजुङमा प्रसूति सेवालिने महिलाहरुको तथ्यांकलाई हेर्ने हो भने जिल्लामा अझै उमेर नपुग्दै विहे गर्ने र कम उमेरमै सन्तान जन्माउने किशोरीहरुको संख्यामा कमी आउन नसकेको पाइएको हो । महिलाले २० वर्ष पुगेपछि मात्र विवाह पाइने कानुनी व्यवस्था छ ।

विगतमा नबुझेर बालविवाह हुने गरेकोमा पछिल्लो समय जान्ने वुझ्नेहरुले नै उमेर नपुग्दै विवाह गर्ने गरेका छन् । बालविवाहको यकिन तथ्यांक नभएपनि कम उमेरमै आमा हुने किशोरीहरुको संख्याले बालविवाह न्यूनीकरणमा कुनै पनि उपलव्धि हासिल हुन नसकेको देखाएको छ । जिल्ला अस्पताल लमजुङमा चालु आर्थिक वर्ष ०७८/०७९ को ६ महिनामा मात्रै २० वर्ष मुनिका ७० जना किशोरी आमा बनेका छन् ।

जिल्लाका अन्य स्वास्थ्य सस्था तथा जिल्ला बाहिरबाट पनि केहिले सेवा लिएको हुन सक्ने भएकाले सो संख्या अझै बढी हुनु सक्ने अनुमान गरिएको छ । चालु वर्ष प्रसूति सेवा लिनेमा सवै भन्दा कम उमेरमा १५ वर्षका चार जना रहेका अस्पतालले जनाएको छ । त्यसैगरी आर्थिक वर्ष ०७७/०७८ मा प्रसूति सेवालिने १ सय ५४ जना किशोरीहरु २० वर्षभन्दा कम उमेरका रहेका छन् ।

आर्थिक वर्ष ०७६/०७७ मा भने एक सय ७१ जना २० वर्ष मुनिका किशोरीहरु आमा बनेको अस्पताल प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताउनुभयो । कतिपयलाई परिवार नियोजनका अस्थायी साधन जानकारी नहुँदा तथा जानकारी भएर पनि कतिपयले प्रयोग नगर्दा कम उमेरमै गर्भवती हुने गरेको अस्पतालका स्त्री रोग विशेषज्ञ डा. हेमा छन्त्यालको भनाई छ ।

स्वास्थ्यका दृष्ट्रिकोणले २० देखि ३५ वर्ष उमेरसम्म गर्भवती हुनु राम्रो मानिन्छ । २० वर्ष मुनि र ३५ वर्ष भन्दा माथिको उमेर प्रसुतिका लागि उपयुक्त नहुने चिकित्सकहरु बताउछन् । यस अवस्थामा गर्भवति हुदाँ पाठेघर खस्ने, विभिन्न रोग संक्रमण तथा ज्यानै जाने जोखिम समेत हुने चिकित्सकहरुको भनाई छ ।