काठमाडौं, फागुन ८ । राप्रपा परित्याग गरेर राप्रपा नेपालका अध्यक्ष हुनुभएका कमल थापालाई आफ्नै छोरी र भतिजासहित परिवारिक सदस्यको असहयोग देखिएको छ । राप्रपाको महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि लाक्पा शेर्पाले दर्ता गरेको राप्रपा नेपालको अध्यक्षको जिम्मेवारी लिनुभएका थापालाई उहाँकै पारिवारिक सदस्यको साथ नदिएका हुन ।
काठमाडौंमा शनिबार उहाँले ‘राप्रपा नेपाल’ पार्टीको घोषणा गर्नुभयो । तर, राप्रपाको सदस्यमा निर्वाचित हुनुभएकी छोरी प्रतिष्ठा थापा र भतिजा अभिषेक थापा राप्रपा नेपालको घोषणा कार्यक्रममा जानुभएन । उहाँहरुले राप्रपाको सदस्यबाट पनि राजीनामा दिनुभएको छैन।
राप्रपा सदस्यमा निर्वाचित प्रमाणपत्र नबुझेका प्रतिष्ठा र अभिषेक औपचारिक रुपमा कुनै पार्टीमा आवद्ध हुनुभएको छैन । कमल थापा अध्यक्ष रहेको राप्रपा नेपालको घोषणा कार्यक्रम नदेखिनुले पनि उहाँहरू सो पार्टीमा नरहेको स्पष्ट हुन्छ । पुराना साथीलाई आफूलाई सहयोग गर्न केही दिनअघि अध्यक्ष थापाले आह्वान गरे पनि पारिवारिक सदस्यकै साथ नदेखिएको हो ।
यस्तै नाताले सम्धी पर्ने भरत रायमाझी र थापा उपप्रधानमन्त्री हुँदासमेत स्वकीय सचिव रहनुभएका राजाराम बर्तौलाको साथ पनि अध्यक्ष थापाले पाउनुभएको छैन । हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रको एजेण्डामध्ये हिन्दु राष्ट्रको एजेण्डा बोकेर राप्रपा नेपालको नेतृत्व सम्हाल्न जानुभएका थापालाई आफ्नै पारिवारिक सदस्यको साथ नरहेको देखिएको हो ।
राप्रपा नेपाललाई आफ्नै पुरानो घर दाबी गर्नुभएका थापाले गठन गरेको राप्रपा नेपाल २०७३ सालमा पशुपतिशम्शेर राणाले नेतृत्व गर्नुभएको राप्रपासँग एकता गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी निर्माण भएको थियो । तर, अहिले थापा गएको राप्रपा नेपाल लाक्पा शेर्पाले गठन गर्नुभएको हो । शेर्पाले अध्यक्षबाट राजीनामा दिएर थापालाई नेतृत्व सुम्पिनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्