काठमाडौं, १९ फागुन । नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका महामन्त्री गगन थापाप्रति आक्रोश व्यक्त गर्नुभएको छ ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी नेकपाले एमसीसी राष्ट्रको हित विपरित रहेको जनाएको छ । उक्त कार्यक्रममा नेकपा प्रवक्ता प्रकाण्डले प्रचण्डकै कारण १५ गते एमसीसी पारित भएको बताउनुभयो । उहाँले भन्नुभया ( ‘प्रचण्डजी जस्तो दलाल र राष्ट्रघाती, राष्ट्रकाविरुद्ध गद्दार गर्ने अरु कोही देखिएन । प्रचण्डजीकै कारण १५ गते एमसीसी पारित भयो ।’ उहाँले नेपाली कांग्रेसका महामन्त्री गगन थापा पनि अमेरिकी दलाल भएको आरोप लगाउनुभयो । उहाँले बुढा दलालहरुले गर्न नसकेपछि युवा दलालहरु सक्रिय भएको दाबी समेत गर्नुभयो।
उहाँले भन्नुभयो ‘बुढापाका दलालहरुले नसकेपछि युवा नेताका नाममा दलाली सुरु गरे ।’ उहाँले अब आफूहरुले एमसीसी लागु हुन नदिने पनि बताउनुभयो । उहाँले सरकारले संसदीय व्यवस्था विपरित एमसीसी संसदबाट पास गरेको र १२ बुँदे व्याख्यात्मक घोषणा गलत भएको आरोप पनि लगाउनुभयो ।
सदनबाटै एमसीसी पारित गरेर सरकारले जनताको भावनाबिपरित एमसीसी कार्यान्वयन गर्न खोजेको भन्दै आफूहरुले यसलाई रोक्ने चेतावनी समेत दिनुभयो । एमसीसी आर्थिक परियोजना मात्र नभएर सैन्य रणनीतिका लागि आएको १२ बुँदेले पुष्टि गरेको पनि उहाँले दाबी गर्नुभयो । अब एमसीसीको विरोधमा जनता उर्लने भन्दै जनताको बलमा एमसीसी लागू हुन नदिने उहाँको भनाइ छ ।













प्रतिक्रिया दिनुहोस्