जनता टाइम्स

१५ चैत्र २०७८, मंगलवार १३:१६

प्रधानमन्त्री देउवाको भारत भ्रमण अप्रिलफुल, नझुक्किनु होला


काठमाडौं, चैत्र १५ । प्रधानमन्त्री शेरबहादुर देउवा चैत १८ गते शुक्रबार भारत भ्रमणमा जादै हुनुहुन्छ । संयोगले भनौँ, उक्त दिन विश्व मूर्ख दिवस अर्थात् अप्रिल १ परेको छ। झण्डै ४ वर्षपछि भारत जाँदै गरेका देउवालाई भारतमा कसैले मूर्ख नबनाओस्, आम नेपाली यही चाहन्छन्।त्यसो त अप्रिलको पहिलो दिन कुनै औपचारिक कार्यक्रम हुने जानकारी छैन। अनि सधैं अप्रिल फस्टले मूर्ख बनाउँछ भन्ने पनि छैन।

सकरात्मक ढंगले हेर्ने हो भने अप्रिल फस्टले मूर्ख नबन्न सचेत समेत गराउँछ। नरेन्द्र मोदीसँग प्रधानमन्त्री देउवाको भेटवार्ता शनिबार हुने कार्यक्रम छ। अर्को संयोग मान्नु पर्छ। हाम्रो पात्रोको अनुसार शनिबारको दिन ‘तेल लगाउने दिवस’ रहेछ। हामीलाई आशा छ, हाम्रा प्रधानमन्त्रीले चिल्ला कुरा गरेर भारतीय प्रधानमन्त्रीलाई रिझाउने भन्दापनि तीता नै होस साँचो कुरा गरेर मुलुकको निकाश खोज्नुपर्छ।

प्रधानमन्त्रीले देउवाले सन् १९५० को शान्ति तथा मैत्री सन्धि लगायत दुवै देशको हितबारे कैयौँ विषयमा साझा सुझाव दिइएको भनिएको ईपीजी प्रतिवेदन किन नबुझेको भन्ने प्रश्न राख्नु सक्नु पर्छ। नेपाली भूमिमा भारतीय सेना किन भनेर प्रश्न गर्नुपर्छ। नेपाली भूमिमा बन्दै गरेको भारतीय बाटो किन भनेर सोध्नु पर्छ।बाटोको बारेमा फरक सम्झौता गर्न सकिन्छ। जस्तोको पश्चिमको ‘काँडाबारी’‐कालापानीको बाटो लिजमा दिएर पूर्वको ‘फूलबारी’‐बंगलादेश जानेबाटोको बाटो प्रयोग गर्न सकिन्छ। स्वाभिमान जोगाएर समानताका आधारमा गरिने संझौताले मुलुकको हित गर्ने छ।देउवाको चैत २० गते नेपाल फर्किने कार्यक्रम छ। संयोगले उक्त दिन मत्स्य जयन्ती परेको छ।

यसलाई डार्विनको‘इभोल्यूशन थ्यौरी’ अर्थात् अनुकूलताको सिद्धान्त अनुसार हेर्ने हो भने एकल कोष भएका जीवहरु पानीबाट क्रमशःअनुकूलताका आधारमा विकास हुँदै गएको बताइएको छ।माथिका प्रश्नको सार्थक जवाफ पाएमा मुलुकले दिगो निकाश पाउने छ। आपसी समझदारी र विश्वास पलाएमा स्वार्थका साँघुराबाटो हैन समाधानका राजमार्ग खुल्ने छन्।

आशा गरौँ नेपाली प्रधानमन्त्रीको भारतसँगको स्वाभिमानपूर्ण वार्ता र संवादले मत्स्य जयन्तीको दिन भूपरिवेष्ठीत देशलाई निश्चयनै समुन्द्रको बाटो सहजै उपलव्ध हुने छ।अप्रिल फस्टमा सुरु हुने भ्रमणले बुद्धिमत्तापूर्ण नतिजा ल्याओस्।