जनता टाइम्स

२० चैत्र २०७८, आईतवार १३:२५

श्रीलंकामा समाजिक सञ्जालमा लागेको प्रतिबन्धप्रति सरकारका मन्त्री नै असन्तुष्ट


कोलम्बो, २० चैत । श्रीलंकाका मन्त्री तथा प्रधानमन्त्री महिन्दा राजापाक्षेका जेठा छोरा नमल राजापाक्षेले सामाजिक सञ्जालमा लगाइएका प्रतिबन्धमा पुनर्विचार गर्न सरकारलाई आग्रह गर्नुभएको छ । प्रतिबन्ध पूर्णरुपमा उपयोगहीन भएको बताउँदै उहाँले त्यसबारे पुनर्विचार गर्न सरकारलाई आग्रह गर्नुभएको हो ।

श्रीलंका सरकारले फेसुबुक, ट्विटर, इन्स्टाग्राम, ह्वाट्सएप, युट्युबलगायतका सामाजिक सञ्जालका माध्यमहरूमा प्रतिबन्ध लगाएको छ । गलत सूचना रोक्न सरकारले सो निर्णय गरेको बताइएको छ । अप्ठ्यारो आर्थिक संकटबीच राष्ट्रपति गोटाबाया राजापाक्षेविरुद्ध विरोध प्रदर्शन भइरहेका बेला सरकारले संकटकाल घोषणा गरेको थियो ।

हिजो साँझ देशव्यापी कर्फ्यू लगाएको सरकारले आज सामाजिक सञ्जालमा रोक लगाएको थियो । युवा तथा खेलकुद मन्त्रालय हाँकेका नमल राजापाक्षे राष्ट्रपति गोटाबाय राजापाक्षेका भतिजा हुन् । उहाँले ट्विट गर्नुभएको छ, ‘सामाजिक सञ्जालमा रोक लगाउने कुरालाई म कहिल्यै मान्दिनँ।’