चितवन, ८ वैशाख । भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवारी दिन विजय सुवेदीले प्रदेश सांसद पदबाट राजीनामा दिनुभएको छ । स्थानीय निर्वाचनमा उम्मेदवार बन्न चाहने जनप्रतिनिधिले मनोनयन दर्ता गर्नुअघि पदबाट राजीनामा दिनुपर्ने प्रावधानअनुसार उहाँले आज राजीनामा दिनुभएको हो ।
नेकपा एमालेबाट महानगरको मेयरको उम्मेदवार बन्नुभएको उहाँले प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठसमक्ष राजीनामा दिनुभएको हो । ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले ११ र १२ वैशाखमा मनोनयन दर्ता गर्ने कार्यतालिका बनाएको छ ।
सोही कारण सुवेदीले आजै हेटौंडा पुगेर राजीनामा दिनुभएको हो । सुवेदी चितवन क्षेत्र नम्बर २ (ख)बाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँले चार वर्ष तीन महिना एक दिन बागमती प्रदेश सभा सदस्यको रुपमा काम गर्नुभयो ।
उहाँले ४९ दिन बागमती प्रदेशको सामाजिक विकास मन्त्रीको समेत जिम्मेवारी सम्हालेका थिए । सुवेदीलाई नेकपा एमालेले सर्वसम्मत रुपमा भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवार सिफारिस गरिसकेको छ । उहाँ भरतपुर महानगरपालिका–१२ को स्थायी बासिन्दा हो ।













प्रतिक्रिया दिनुहोस्