रौतहट, बैशाख ९ । कांग्रेसको नेतृत्वमा कम्युनिष्ट आन्दोलन बिस्तार गर्ने अभियानमा रहनुभएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आफ्नै गृहनगरमा कांग्रेसले अपमान गरिदिएको छ ।
माधवको गृहनगर चन्द्रपुरमा कांग्रेसले कसैलाई नछाडने भन्दै अपमान गरेको हो । नेकपा एसले पनि आफ्नो उम्मेदवार घोषणा गरेपछि चन्द्रपुरमा पाँच दलीय गठबन्धनको सम्भावना टरेको छ ।
नेकपा एसले रौतहटको सबैभन्दा महत्वपुर्ण नगरपालिका चन्द्रपुरमा बाबुराम दाहाललाई मेयर तथा रामरती चौधरीलाई उपमेयर सिफारिस गरेको छ भने कांग्रेसले यसअघि सिफारिस गरेका सातजनाको नामावलीकाबारेमा आज टुंगो लगाउँदै छ ।
‘कांग्रेस चन्द्रपुर नगर समितिले गठबन्धन नगर्ने भनेर यसअघि नै निर्णय गरिसकेको छ, सो निर्णयका बारेमा आज जिल्ला समिति बैठकमा आवाश्यक निर्णय हुनेछ,’ चन्द्रपुर नगरसभापति मुकेश गिरीले भन्नुभयो । उहाँका अनुसार गिरीसहित सपु्तबहादुर कार्की, अनन्त कोइराला, रमेशहरि अधिकारी, रामचन्द्र चौधरीलगायतलाई मेयरका लागि सिफारिस गरिसकेको छ ।
नेकपा एसले पनि गत बुधबारको बैठकवाट दाहाल र चौधरीलाई मेयर र उपमेयर सिफारिस गरे पनि माओवादी केन्द्रले भने अझै नाम सिफारिस गरिसकेको छैन ।
जिल्ला तहमा तीन पटकसम्म गठबन्धन बैठक बसेको भए पनि चन्द्रपुरका लागि एकपटक पनि बैठक बस्न सकेको छैन । माओवादीले पनि कमजोर दलहरुले मेयर र उपमेयरको नाम सिफारिस गरिसकेको भन्दै आज बेलुकासम्म माओवादीका मेयर र उपमेयरको नाम सिफारिस गरिसक्ने बताएको छ ।













प्रतिक्रिया दिनुहोस्