जनता टाइम्स

११ बैशाख २०७९, आईतवार १४:४३

खेलाडी संघमा विक्रम लामा सर्वसम्मत


काठमाडौं, ११ वैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत रहेको खेलाडी संघमा विक्रम लामा सर्वसम्मत चयन हुनुभएको छ । आज सातदोबाटोस्थित एन्फा मुख्यालयमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्य लामालाई सर्वसम्मतबाट अध्यक्ष चुनिएपछि प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।

यस्तै, विकेश कुथु, सुजल श्रेष्ठ, विराज महर्जन उपाध्यक्षमा सर्वसम्मत भएका छन् । यता सदस्यमा रन्जित धिमाल, अनन्त तामाङ, विशाल राई, विमल घर्तीमगर, सरोज दहाल, रोहिच चन्द र विशाल श्रेष्ठ सर्वसम्मत चुनिनुभयो । ११ सदस्यीय कार्यसमितिमा भने महिला खेलाडीको नाम अटाएको छैन ।

महिला खेलाडीले उम्मेदवारी दर्ता नगराएकाले मनोनीतबाट तानिने नवनिर्वाचित अध्यक्ष लामाले बताउनुभयो । अध्यक्षमा सर्वसम्मत चुनिएका लामाले खेलाडीको हकहितका लागि काम गर्ने बताउनुभएको छ । यसअघि प्रशिक्षक संघमा सर्वसम्मतबाट राजेन्द्र तामाङ आउनुभएको थियो ।