जनता टाइम्स

२ असार २०८२, सोमबार १९:४७

३ लाख धरौटी बुझाएर छुटे राप्रपा महामन्त्री धवल शमशेर


काठमाडौं, असार २ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री तथा धवलशमशेर राणा धरौटीमा रिहा हुनुभएको छ ।

सोमवार अदालतमा हाजिर भएपछि अदालतले मागेअनुसारको तीन लाख रुपैयाँ धरौटी बुझाएर राणा रिहा हुनुभएको हो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालको इजलासले राणालाई तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

२०८१ चैत १५ मा तीनकुनेमा आयोजित राजावादी आन्दोलनमा सहभागी राणाविरुद्ध राज्य विरुद्धको कसुरसहित ४ वटा मुद्दामा अभियोजन गरिएको थियो । राणालाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा सजायको मागदावी लिइएको थियो ।

यसअघि प्रहरीले अनुसन्धान पूरा गरेर सांसद राणालाई हाजिर जमानीमा रिहा गरेको थियो । उपचारका लागि रिहा हुनुभएका राणा मुद्दा दायर भएपछि सम्पर्कबिहीन बनेपछि अदालतले पुर्जी जारी गरेको थियो । राणा सोमवार आफैँ अदालतमा उपस्थित हुनुभएको हो ।

राप्रपाकै बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र भने अझैं सम्पर्कबिहीन हुनुभएको छ । फरार भएपछि उहाँहरुको रिहाइका लागि जमानी बस्ने कानून ब्यवसायीसमेत जरिवानामा परेका थिए ।