जनता टाइम्स

३ असार २०८२, मंगलवार ०६:३२

सातवटै प्रदेशमा वर्षाको सम्भावना, केही भूभागमा ठूलो पानी पर्ने


काठमाडौं, ३ असार। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेस, बागमती र गण्डकीका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव छ ।

महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशको एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सातवटै प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा ठूलोदेखि धेरै ठूलो वर्षाको सम्भावना रहेको छ। यस्तै, आज राति पनि सबै प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।