जनता टाइम्स

९ आश्विन २०८३, शुक्रबार १३:३१

हनुमन्ते खोलाको बहाब बढ्यो, १६ परिवारका ९५ जना सुरक्षित स्थानमा सारिए


काठमाडौँ, ९ असोज । भक्तपुरको मध्यपुर थिमी हुँदै बग्ने हनुमन्ते खोलाको बहाब बढेपछि जोखिममा रहेका १६ परिवारका ९५ जनालाई सुरक्षित स्थानमा सारिएको छ।

भक्तपुर प्रहरीले थिमीका जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जनाएको छ। बिहीबारदेखि परेको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकासहित देशभरको जनजीवन प्रभावित भएको छ भने विभिन्न सडकसमेत अवरुद्ध भएका छन्।

हालसम्म बाढी र पहिरोबाट ठूलो क्षति भएको सूचना प्राप्त नभएको प्रहरीले जनाएको छ। अविरल वर्षाबाट हुनसक्ने धनजनको क्षतिलाई मध्यनजर गर्दै देशभर प्रहरीलाई उच्च सतर्कतामा राखिएको छ।

प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेले नदीतटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सार्ने तथा सम्भावित जोखिमबारे सचेत गराउन प्रहरीले निरन्तर माइकिङ गरिरहेको बताउनुभएको छ।