जनता टाइम्स

१३ बैशाख २०७९, मंगलवार १९:४४

मधेस प्रदेशकै पहिलो महिला मेयर रिना साहको प्रतिबद्धता : मुल सडक चारलेन, नगरबाट दिईने सेवामा कर छुट


रौतहट बैशाख १३ । मधेश प्रदेशकै पहिलो महिला मेयर रोलमोडल रिना कुमारी साहले चुनावी प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ । रौतहटस्थित मौलापुर नगरपालिकामा एमालेबाट साहले पुनः मेयर पदमा उम्मेदवारी दिएलगत्तै प्रतिवद्धतापत्र सार्वजनिक गर्नुभएको हो ।

आफूले सुरु गरेको पाँच बर्षमा पूरा नभएका दिर्घकालिन योजनाहरु पूरा गर्न र अधुरा रहेका काम सम्पन्न गर्नका लागि पुनः उम्मेदवार बनेको साहले बताउनु भयो । साहले एक प्रतिवद्धता पत्र सार्वजनिक गर्दै भौतिक पुर्वाधार, सेवा प्रवाह र शुसासन, सामाजिक न्याय, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, खेलकुद, कृषि , उद्योग र व्यापार, पर्यटन तथा संस्कृतिलाइ थप बिकास गर्ने उल्लेख गर्नुभएको छ ।

हेर्नुहोस प्रतिबद्धता पत्र

रौतहटको साविक पतौरा, पथराबुधराम, सोनरनिया र मर्यादपुर गाविसहरुलाइ जोडेर २०७३ सालमा मौलापुर नगरपालिका बनेको हो । नौ वटा वडा रहेको मौलापुर नपा अहिले तीव्र बिकासको गतीमा छ । एकदशक अघिसम्म विकासको तहमा निकै पछाडि रहेको मौलापुर नपा जिल्लाको पश्चिमी भेग लालबकैया नदीको चपेटाका कारण पनि थप पछाडि पर्दै आएको थियो ।

त्यस समय मौलापुर र आसपासका बासीन्दा स्वास्थ्य, शिक्षाजस्ता आधारभुत सेवालिन र किनमेल गर्न सदरमुकाम गौर, कटहरीया, गरुडा र चन्द्रनिगाहपुर तथा छिमेकी जिल्ला बाराको कलैया पुग्नुपर्ने बाध्यता थियो तर अहिले त्यो समस्या टरेको छ ।
सडक, पुल नहुदा बर्षाको समयमानिकै कष्ट झेल्नुपर्ने हुन्थ्यो । पूर्वमा रहेको लालबकैया नदी र बारा जिल्लाको सिमानामा रहेको अरुवाखोलाका कारण मौलापुर नपाको धेरै बस्ती डुवानमा पर्नुका साथै आवत जावतमा नै समस्या हुने गर्दथ्यो अहिले ठाउठाउमा पुल बनेको छ । सडक कालोपत्र भएपछि साना तथा ठुला सवारी साधनहरु चल्न थालेका छन ।

२०७४ मा सम्पन्न स्थानीयतहको चुनावमा मौलापुर नपाले महिला मेयर पायो । मधेश प्रदेश कै एक मात्र महिला मेयर बन्न रिनाकुमारी साह सफल हुनुभएको थियो । मेयर साहको अनुभव छ , ‘नगरको हरेक क्षेत्रमा धेरै समस्या थियो, चुनौतीहरु प्रशस्त थियो तर सकारात्मक सोच र ठोस योजना बनाएर अगाडी बढ्दा सफल हुने रहेछ ।’ अहिले मौलापुरनपा ५ बर्ष अघि जस्तौ छैन, नमुना नगरको रुपमा बिकसित हुदैगएको चर्चा चल्न थालेको छ ।

शिक्षा, स्वास्थ्य, कृषि, सूचना प्रविधि, पर्यटन, कला संस्कृतीको जगेर्ना, धार्मीक तथा पुरातात्विक स्थलहरुको संरक्षण जस्ता कामहरु भएका छन । टोलका भित्री बाटोहरु पक्की ढलान भएका छन भने अन्य नगर तथा मुल सडकहरु जोड्ने बाटोहरु कालोपत्रे भएका छन । करीव १५ किलोमिटर नया सडक निमार्ण गरेर कालोपत्रे गरिएको छ । पुराना सवैजसो बाटोहरु ढलान र कालोपत्रे गरिएको छ ।

नगरपालिकाले महत्वाकांक्षी योजना अन्र्तगत दुइ वर्षमा सुरक्षित आवास कार्यक्रम अन्तर्गत ७ सय २८ परिवारलाइ घर मर्मत तथा निर्माण गरेको छ । मौलापुर, मर्यादपुर, पथरा, नन्कार, पतौरा, गम्हरीयालगायत टोलमा घर बनाउन रकम अनुदान दिएको मेयर साहले जानकारी दिनुभयो । नगरपालिकाको अग्रसरतामा ७ करोड १२ लाख लागतमा एकीकृत नमुना बस्ती निर्माण भएको छ ।

एकीकृत बस्ती बिकास कार्यक्रम अन्तर्गत मर्यादपुरमा २५ परिवार, मौलापुरमा १८ परिवार लाइ पक्की घर निर्माण गरी हस्तान्तरण गरीएको छ । चारवर्षको अवधीमा नगरपालिकाले करीव १२ करीव बिगाह जग्गा खरिद गरेर शैक्षिक संस्था, सरकारी कार्यालय, एकीकृत बस्ती बिकासलगायतको दिर्घकालिन पूर्वाधार गरीरहेको मौलापुर नगरपालिकाले जनाएको छ ।नगरपालिकाको सवै वडाहरुमा बिद्यालय स्थापना भएको छ । अधिकांश बिद्यालयको स्तरोन्नती गरिएको छ । मौलापुरलाइ शैक्षिक हब बनाउने योजना मेयर साहको छ ।

रौतहटमा नै सो नगरपालिकाले स्थानीय राजपत्र सहित नगरपालिका शिक्षा ऐन २०७५, कृषि ऐन, कृषि संस्थान ऐन, सहकारी ऐन, एफएम रेडियो प्रशारण ऐन, प्राविधिक तथा व्यवसायिक तालिम प्रतिष्ठान ऐन र प्रशासनिक कार्यविधि ऐन गरी सात वटा ऐन पारित गरेर लागु गरेको छ । जिल्लाका अन्य स्थानीय तहले स्थानीय ऐन पारीत गर्न सकेका छैनन । मौलापुर पोलिटेक्निक क्याम्पस सञ्चालन गरिएको छ । सिभिल इन्जिनिरिङ, इन्जिनियरिङको डिप्लोमा तहको कक्षा सञ्चालनमा छन ।

‘महिलासँग मेयर कार्यक्रम अन्तर्गत नगरका बिपन्न परिवारका उमेर पुगेका छोरीको बिवाहमा २५ हजार रुपैयाँ अनुदानको व्यवस्था गरिएको छ । प्राथमिक उपचार केन्द्रमा एक बर्ष अघिदेखि प्रसूति सेवा उपलब्ध छ भने सरकारी बिधालयका छात्रालाई सेनिटरी प्याड बितरण हुँदै आएको छ । सिँचाइकाका लागि प्रयोग हुँदै आएको कृषि विद्युत मिटरको शुल्क नगरपालिकाले तिर्ने निर्णय भएको छ । सवै वडामा ओभरहेड खानेपानी ट्यांकी निमार्ण भएका छन ।

सो नगर धुवा चुलो मुक्तनगर घोषणा भएको छ । उन्नत जातको बीउबिजन निःशुल्क रुपमा बितरण हुदै आएको छ । फलफूल तथा अन्न भण्डारणका लागि कोल्डस्टोर निमार्ण भैरहेको छ । नगरपालिकाले मालपोत कर पूर्णरुपमा छुट दिएपछि नगरबासी अझ खुसी भएका छन । नगरको मुख्य बजारहरुमा निशुल्क रुपमा प्रयोग गर्न सकिने इन्टरनेटको प्रबिधी जडान भएको छ भने सुबिधा सम्पन्न बसपार्कको निमार्ण भएको छ ।

इमान्दारीताका साथ काम गरे जनताको चाहानालाइ पुरागर्न सकिने रहेछ भन्ने अनुभव भएको मेयर साह बताउनु हुन्छ । बाकी रहेका कामहरु पुरा गर्न तथा जनताको आवश्यक्ता पुरा गर्नका लागि आफु एक पटक सेवक बनेर आउन लागेको साहको भनाई छ ।