काठमाडौं, साउन २ । नेपालमा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था लागू गर्नुपर्ने माग गर्दै युवाहरूको एक समूहले शनिबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।
प्रदर्शनकारीहरूले २०८७ सालभित्र प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था लागू गर्नुपर्ने माग गर्दै वर्तमान शासकीय प्रणालीमा व्यापक सुधार आवश्यक रहेको बताएका छन्।
आन्दोलनकारीहरूले प्रदेश संरचना खारेज गरी स्थानीय तहलाई थप अधिकारसहित सशक्त बनाउनुपर्ने, मन्त्रिपरिषद्लाई अधिकतम १० सदस्यीय बनाउनुपर्ने तथा शिक्षा र स्वास्थ्य क्षेत्रलाई पूर्ण रूपमा राज्यको स्वामित्वमा सञ्चालन गर्नुपर्ने माग अघि सारेका छन्।
त्यसैगरी, नेपालका सबै बैंकहरूको राष्ट्रियकरण गर्नुपर्ने, अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउन कानुनी व्यवस्था कडा बनाउनुपर्ने तथा गम्भीर अपराधमा कडा सजायको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ।
प्रदर्शनमा सहभागी युवा अर्जुन विश्वकर्माले सुकुम्बासी, भूमिहीन किसान तथा जग्गाविहीन नागरिकहरूको समस्या स्थायी रूपमा समाधान गर्न वैज्ञानिक भूमि सुधार ऐन ल्याउन आवश्यक रहेको बताए।
युवाहरूले हालको शैक्षिक पाठ्यक्रमलाई समयानुकूल पुनरावलोकन गरी सीप, प्रविधि र व्यावहारिक शिक्षामा आधारित पाठ्यक्रम लागू गर्न पनि सरकारसँग माग गरेका छन्।
प्रदर्शनका क्रममा सहभागीहरूले राजनीतिक, प्रशासनिक तथा आर्थिक प्रणालीमा व्यापक सुधारमार्फत सुशासन, विकास र समृद्धि हासिल गर्नुपर्नेमा जोड दिएका थिए।













प्रतिक्रिया दिनुहोस्