काठमाडौं, साउन २ । विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत तथा आवासीय चिकित्सकहरूले आफूहरूमाथि श्रम शोषण भइरहेको आरोप लगाउँदै शनिबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्।
युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषणविरुद्धको संघर्ष समितिको नेतृत्वमा आयोजित प्रदर्शनमा सहभागीहरूले श्रम ऐन, २०७४ अनुसार प्रशिक्षार्थी चिकित्सकको दैनिक ड्युटी अधिकतम १२ घण्टा र साप्ताहिक ७२ घण्टाभन्दा बढी हुन नहुने व्यवस्था कार्यान्वयन गर्न माग गरेका छन्। साथै, हप्तामा कम्तीमा एक दिन अनिवार्य बिदा सुनिश्चित गर्नुपर्ने उनीहरूको माग छ।
प्रदर्शनकारीहरूले ४८ घण्टाभन्दा बढी काम गराउँदा श्रम ऐनअनुसार ओभरटाइम भत्ता उपलब्ध गराइनुपर्ने र सरकारले बजेटमार्फत घोषणा गरेको तलबवृद्धि तत्काल लागू गर्न आग्रह गरेका छन्। उनीहरूले विगतको सहमतिअनुसार आवासीय चिकित्सकलाई अधिकृत आठौँ तहसरहको पारिश्रमिक उपलब्ध गराउन पनि सरकारसँग माग गरेका छन्।
त्यसैगरी, एमबीबीएस तथा बीडीएस अध्ययन पूरा गरेपछि एमडी, एमएस र एमडीएस अध्ययनका लागि राखिएको एक वर्षको अनिवार्य कार्यअनुभव (वर्क एक्सपिरियन्स) को व्यवस्था खारेज गर्नुपर्ने माग पनि प्रदर्शनकारीहरूले अघि सारेका छन्।
प्रदर्शनका क्रममा चिकित्सकहरूले स्वास्थ्य क्षेत्रमा कार्यरत प्रशिक्षार्थीहरूको श्रम, सेवा र पेशागत अधिकारको सम्मान गर्दै उचित सेवा–सुविधा र कार्य वातावरण सुनिश्चित गर्न सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेका छन्।













प्रतिक्रिया दिनुहोस्