जनता टाइम्स

१५ बैशाख २०७९, बिहीबार १२:११

जसले उर्जावान युवावस्था वाम आन्दोलनमा समाहित गरिन..


ममता अर्याल, महोत्तरी । महोत्तरीको सन्दर्भमा दुर्गा दाहाल एक सशक्त महिला मुक्ति र नेपाली वाम तथा प्रजातान्त्रिक आन्दोलनमा स्थापित नाम हो । फलानाकी छोरी वा फलानाकी ‘घरवाली’ (पत्नी) भनेर परिचयका लागि नाता खुट्याउन दुर्गाको नाउँमा पर्दैन । १२/१३ वर्षको किशोर वयदेखि नै वाम आन्दोलनमा जोडिएकी दुर्गालाई बरु कतिले ‘छुच्ची’ भन्लान , तर बैमान, भूmठफरेब वा आर्थिक अपचलनको कुरा जोड्न सक्दैनन् ।

जीवनका पाँच दशक कटाएकी उनलाई कसैले लोलोचोपो दल्ने ‘दहीचिउरे’ पनि भन्न सकेका भेटिएको छैन । पञ्चायतकालका अप्ठ्यारा दिनमा तत्कालीन निर्मल लामा नेतृत्वको नेकपामा आबद्ध भएर राजनीतिक यात्रा थालेकी दुर्गा अहिले नेकपा (एमाले) को केन्द्रीय अनुशासन आयोगको सचिवालय सदस्य छिन् । आसन्न स्थानीयतह निर्वाचनमा महोत्तरीको बर्दिबास नगरपालिकाको उपप्रमुख (उपमेयर) पदकी प्रत्यासी दुर्गासँग हाम्रा सञ्चार सहकर्मी ममता अर्यालले ‘जम्काभेट’ हुँदा छोटो सम्वाद गर्नुभएको छ । यहाँ सहकर्मी ममताले ‘जम्काभेट’ हुँदा दुर्गासँग गरेकी कुराकानीको सारसंक्षेप

तपाईं त टपक्क चुनावका लागि उमेद्वार बन्नु भएछ । माथिसम्मको ‘च्यानल’ त दरै रहेछ नि !

हो, म आसन्न निर्वाचनका लागि आकांक्षीको दौडमा थिइँन । उमेद्वारी दर्ता गर्ने दिन एकहिसाबले भन्नपर्दा सोच्दै नसोचेको कुरा परिवेसले सुम्प्यो । मैले यहीं (बर्दिबास) कै साथीहरुबाट आकष्मिक रुपमा आएको प्रस्ताव स्वीकार गरेकी हुँ । तपाईंले ‘टपक्क’ र माथिको ‘च्यानल’ भन्ने शव्दावलि जोड्नु भयो, म यसलाई पर्गेल्न वा चिरफारतिर लाग्दिन । यतिमात्र भन्नसक्छु–, समय र साथीहरुले दिनु भएको विश्वास बोकेकी हुँ ।

अनि निर्वाचनमा जानु भनेको त जित्न जानु होइन र ? निर्वाचन परिणाम अनुकूल हुने के आधार देख्नु भएको छ त ?

मुख्य आधार हाम्रो पार्टी नेकपा (एमाले) प्रति जनताले देखाएका स्नेह र विश्वास हो । देख्दै हुनुहुन्छ नि, गठबन्धन नामधारी परमादेशीहरु काँपी रहेका..। पाँच दलीय गठबन्धन भर्सेज नेकपा (एमाले) । एमालेसँग लड्न पाँचदल असिनपसिन छन् । तपाईंलाई यो आधार लाग्दैन ? अनि बस्तीबस्तीमा आम जनताको एमालेप्रतिको लहर । अर्कोपक्ष हामी उमेद्वारको परिचय । प्रमुखमा पार्टीका केन्द्रीय सदस्य टेकबहादुर बलम्पाकी र उपप्रमुखमा म । केन्द्रीय नेतृत्व त्यो पनि पनि साढें तीन दशकभन्दा बढीको निरन्तरको सङ्घर्षले खारिएका छौं हामी । ठूलो कुरा गरी (आत्मप्रवञ्चना) नभन्नु होला यसलाई । आन्दोलनसँग जोडिएको हाम्रो जीवनबारे कोट्याएकी मात्र हुँ । हाम्रा (एमालेका) सबै उमेद्वार यहाँ (बर्दिबास) को वनपाखा, माटोढुङ्गा र परिवेससँग अनन्य रुपले जोडिएका छन् । यो माटोलाई हामीले चिनेका छौं, माटोले हामीलाई चिनेको छ । यी तपाईंलाई हाम्रा चुनाव जित्ने आधार लाग्दैनन् ? घरघरमा एमाले..! जन मनमा एमाले !!

उमेद्वारीमै गञ्जागोल देखियो दलहरुभित्र । खै जनताले के भनेर पत्याउने तपाईंहरुलाई ?

निर्वाचन राजनीतिमा लागेका नेता कार्यकर्ताका लागि परीक्षणको अवसर हो । परिक्षीत हुने अवसर प्राप्त गरौं भन्ने लाग्नु त त्यति नाजायज पनि होइन । निश्चित बेलासम्म उमेद्वारीको अपेक्षा राख्न त सकिन्छ , तर दलमा आबद्ध कार्यकर्ताले अन्ततः दलीय निर्णय आत्मसाथ गर्नपर्छ । अनि हामीकहाँ त तपाईंले भन्नुभएजस्तो कुनै गञ्जागोल त केही छैन । अन्य दलमा केही देख्नु भएको भए त्यसको धङ्धङी पो हो की ? न हाम्रो दलबाट मेयरमा ‘बागी’ छन् , न उपमेयरमा कसैको चित्त दुखाइ छ । हो, केही वडामा कामको दौरानमा फरक फरक सोच देखिएजस्तो भएको हो । आपूmहरुबीच खुलाखुलस्त छलफलले हामीले मन माझी सकेका छौं । तपाईं कुनै भ्रममा नपर्नोस् , समुच्चा एमाले शक्ति अब एकताबद्ध छ । हाम्राविरुद्ध कसैले भुँईं कोट्याएर जोखाना नहेरे हुन्छ । जनता मनमा ‘सूर्य’ बसाएर मतपत्रको त्यही चित्रमा स्वस्तिक चिन्ह लगाउन आतुर छन् । जनताको पत्यार एमाले हो , एमालेको अभिष्ठ जनतासँगको अविछिन्न सम्बन्ध हो ।

भनेपछि निर्वाचन जित्ने कुरामा ढुक्क हुनुहुन्छ ?
जनताको विश्वासमा ढुक्क छौं । आम मतदाता हामी भेट्न पुगी रहौं भन्ने अपेक्षा राख्दैछन् । हामी यथासक्य मतदाताका कुरा सुन्दैछौं । धेरै कुरा किन गरौं ? फुईँ हाँकी नभन्नु होला । जनताको मनमा पनि मनमोहन अधिकारीको विरासत हामी हौं भन्ने स्पष्ट छ । हाम्रो विजय सुनिश्चित छ ।

न रिसाउनु होला दुर्गाजी, तपाईंलाई कतिले छुची छ भन्दा रहेछन् । मान्छेको यो भनाइमा आत्मसमीक्षा गर्नु भएको छ ?

मेरो लोलोपोतो लगाउने बानी छैन । जिन्दगी नै जनताका लागि सुम्पिएकी मान्छे हुँ । सोझो कुरा गर्छु । जनतासँगको मेरो सम्बन्धको कुरामा धेरै चिन्ता नगर्नोस । मलाई ‘छुची’ देख्ने केही फटाहा होलान् । आम जनता सोझो र हक्की कुरा नै मन पराउँछन् । म आम जनताको मनमा छु । हो, जाली, प्रपञ्ची र फट्याइँ गर्नेहरुमाथि म झम्टन्छु । यस्तै फटाहाहरुले मलाई ‘छुची’ देख्छन्, भन्छन् । म यस्ता जालीहरुबीच ‘छुची’ को परिचयबाट तर्सन्न, डग्दिन । मेरो बाटो सोझो छ ।
अझै केही भनौं भनौ लागेका कुरा बाँकी छन् दुर्गाजी ?

कुरा बस्तीमा भेटिन्छन् । हामी जनतासँग निरन्तर सिक्ने प्रकृयामा छौं । जनता नै अजेय शक्तिका स्रोत हुन् । हामी तिनकै शरणमा छौं । तपाईंले निर्वाचनको मुखमा केही कुरा राख्ने अवसर दिनुभयो । साधुवाद छ । हार्दिक आभार व्यक्त गर्दछु ।——