जनता टाइम्स

२८ बैशाख २०७९, बुधबार ११:२५

भारतीय वायुसेनाको विमान भैरहवामा अवतरण


भैरहवा, २८ बैशाख । भारतीय सुरक्षाकर्मी एसपिजी (स्पेशल प्रोटेक्सन गार्ड) लिएर भारतीय वायुसेनाको विमान भैरहवामा अवतरण गरेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्ध जयन्तीका दिन गर्ने लुम्बिनी भ्रमणको सुरक्षा व्यवस्था मिलाउन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय वायुसेनाको विमान अवतरण गरेको हो। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता श्याम किशोर साहका अनुसार भारतीय वायुसेनाको इलुसियन विमान आईसी–७६ ले कुटनीतिक उडान गरेको छ। दिल्लीबाट सोझै भैरहवा आएको यो विमानमा एसपिजीको टोली आएको हो।

भारतीय प्रधानमन्त्री यहि जेठ २ गते लुम्बिनी आउँदैहुनुहुन्छ। उहाँको भ्रमणपूर्व सुरक्षा व्यवस्था मिलाउन भारतीय सुरक्षाकर्मी लुम्बिनी आइपुगेका हुन्। उनीहरुलाई छोडेर विमान आजै फिर्ता जाने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले उल्लेख गरेको छ ।

मोदीलाई लुम्बिनीमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गर्ने कार्यक्रम छ। भारतीय प्रधानमन्त्री मोदीले करिब डेढ बिघा जमिनमा निर्माण भइरहेको भारतीय मठको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको छ। भारतीय प्रधानमन्त्री मोदी चार वर्षपछि नेपाल आउँन लाग्नु भएको हो ।