जनता टाइम्स

१ असार २०७९, बुधबार ०७:३१

ओमानमाथि नेपालको शानदार जीत


काठमाडौं, असार १ । आईसीसी क्रिकेट विश्वकप लिग(२ मा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको छ । ओमानले प्रस्तुत गरेको १६४ रनको लक्ष्य मात्र ३ विकेटको क्षतिमा १०१ बल बाँकी छँदै जित हात पारेको हो ।नेपालको जीतमा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले अर्धशतकीय पारी खेले ।

शेखले सर्वाधिक ६२ रन तथा भुर्तेलले ५६ रनको योगदान दिए । रोहित पौडेलले नटआउट रहँदै २६ रन बनाएर टिमलाई जीतसम्म डोर्‍याए । ओमानका लागि फयाज बटले २ तथा खवाल अलीले १ विकेट लिए ।यसअघि करन केसीले ५ विकेट लिएपछि ओमान ४६.५ ओभरमा मात्र १६३ रनमा सीमित बनेको थियो । केसीलाई कप्तान सन्दीप लामिछानेले ३ विकेट लिँदै राम्रो साथ दिए ।

ओमानका लागि कप्तान जीसन मक्सुदले ५२ तथा सन्दीप गौडले ४७ रनको योगदान दिए । यसअघि शृंखलाको पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो । यस्तै, दोस्रो खेलमा नेपाल र अमेरिकाबीचको खेल ‘टाइ’ भएको थियो ।