जनता टाइम्स

३२ असार २०८३, बिहीबार ०४:००

बिश्वकपको फाइनल यात्रासँगै गोल्डेन बुट होडमा पनि शीर्ष स्थानमा पुगे मेसी


काठमाडौं, असार ३२ । बिश्वकप २०२६ को फाइनलमा प्रवेश गरेसँगै अर्जेन्टिनाका क्याप्टेन लियोनल मेसी गोल्डेन बुट होडमा पनि शीर्ष स्थानमा पुगेका छन । इंग्ल्यान्डबिरुद्धको सेमिफाइनल खेलमा अर्जेन्टिनाका कप्तान मेसी दुई असिस्ट गर्दै गोल्डेन बुट होडमा शीर्ष स्थानमा उक्लेका छन् ।

अमेरिकाको एटलान्टा स्टेडियममा बिहीबार विहान भएको दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले इंग्ल्यान्ड विरुद्ध २-१ को पुनरागमन जित हात पार्दा मेसीले दुवै गोलमा असिस्ट गरेका थिए ।

अर्जेन्टिनालाई लगातार दोस्रो पटक फाइनल पुर्यायाउँदै उपाधि रक्षा अभियानमा कायम राख्दन महत्वपुर्ण भुमिका खेलेका मेसी व्यक्तिगत अवार्डतर्फ पनि मुख्य दाबेदार बनेका छन् ।

इंग्ल्यान्ड विरुद्ध गोल गर्न असफल रहेपनि मेसीले दुई असिस्ट गरेपछि फ्रान्सका किलियन एमबाप्पेलाई असिस्ट संख्यामा पछि पार्दै सर्वाधिक गोलकर्ताको सुचीमा अगाडि बढेका हुन् । मेसी र एमबाप्पेले ७ खेल खेल्दै समान ८ गोल गरेका छन् । तर मेसीको असिस्ट ४ पुग्दा एमबाप्पेको असिस्ट ३ छ । दुवैले अव एक खेल खेल्न बाँकी छ ।

एम्बाप्पेले तेस्रोका लागि र मेसीले बिश्वबिजेता बन्नका लागि फाइनल खेल खेल्दैछन । एमबाप्पेको कप्तानीमा रहेको फ्रान्स सेमिफाइनलमा स्पेनसँग पराजित हुँदै विश्वकपबाट बाहिरिसकेकोले अब एमबाप्पेले मेसीलाई भेट्ने छैनन् ।

यस्तै ७ गोल गर्दै तेस्रो स्थानमा रहेका नर्वेका एर्लिङ हालान्ड पनि विश्वकपबाट बाहिरिसकेका छन् । सर्वाधिक गोल गर्ने सूचीमा इंग्ल्यान्डका दुई खेलाडी थिए । कप्तान ह्यारी केन र जुड बेलिङघमले समान ६ गोल गरेका थिए । तर सेमिफाइनलमा अर्जेन्टिनासँग पराजित भएपछि दुवैको गोल्डेन बुट दाबेदारी समाप्त भएको छ । यस्तै ५ गवल गरेका फ्रान्सका उसमान डेम्बेले पनि यो होडबाट बाहिरिसकेका छन् ।

फाइनल पुगेको स्पेनका मिकेल ओजाबायाल ५ गोलका साथ सर्वाधिक गोल गर्नेमा सातौं स्थानमा छ । अब फाइनलमा ५ गोल गरेमात्र ओजाबायालले मेसीलाई भेट्नेछन् । अन्यथा मेसी सर्वाधिक गोलकर्ता बन्ने लगभग पक्का छ । यदि मेसीलाई अन्य खेलाडीले पछि पार्न नसकेमा मेसीले फिफा विश्वकपमा पहिलो पटक सर्वाधिक गोलकर्ताको रुपमा गोल्डेन बुट अवार्ड जित्नेछन् ।

सन् २०२२ मा फिफा विश्वकपको उपाधि जितेका मेसीले दुई पटक गोल्डेन बल अवार्ड भने जितिसके । सन् २०१४ मा अर्जेन्टिनालाई फाइनल पुर्यायाउँदा उत्कृष्ट खेलाडी बन्दै मेसीले पहिलो पटक गोल्डेन बल अवार्ड जितेका थिए भने सन् २०२२ मा अर्जेन्टिनाले उपाधि जित्दा मेसीले दोस्रो पटक उक्त अवार्ड जिते । मेसी दुई पटक गोल्डेन बल अवार्ड जित्ने पहिलो र एक मात्र खेलाडी हुन् ।

यस विश्वकपमा अर्जेन्टिनालाई फाइनल पुर्‍याएपछि मेसी फेरी गोल्डेन बलको दाबेदारमा पनि अघि आएका छन् । अर्जेन्टिनालाई ६४ वर्षपछि लगातार दोस्रो पटक उपाधि जिताउने लक्ष्यमा मेसी छन् । ३९ वर्षको उमेरमा पनि उस्तै जोश र लयका साथ खेलिरहेका मेसीले यस विश्वकपमा नयाँ नयाँ कीर्तिमान बनाउने क्रम जारी राखेका छन् । उनले विश्वकपमा लगातार ९ खेलमा गोल गर्ने र नकबउट चरणमा लगातार ६ खेलमा गोल गर्ने कीर्तिमान पनि बनाए ।

यस्तै मेसीले यसै विश्वकपमा सर्वाधिक खेल खेल्ने, सर्वाधिक गोल गर्ने, सर्वाधिक असिस्ट गर्ने लगायत दर्जनौँ कीर्तिमान बनाएका छन् । उनले विश्वकपमा सर्वाधिक ३३ खेल खेलेका छन् भने सर्वाधिक २१ गोल गरेका छन् । यस्तै विश्वकपमा मेसीले नै सर्वाधिक ११ असिस्ट गरेका छन् । यसरी उनले बिश्वकपमा कीर्तिमान नै कीर्तिमान कायम गरेका छन ।