काठमाडौं, असार ३२ । खेलको अन्तिम सयममा जादुमयी लयमा फर्कदै अर्जेन्टिना बिश्वकपको फाइनलमा प्रवेश गरेको छ । भर्खरै सम्पन्न खेलमा इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको हो ।
एटलान्टा स्टेडियममा भएको खेलमा इंग्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा पुगेको हो । एक गोलले पछि परेको अर्जेन्टिनाले अन्तिम समयमा लगातार दुई गोल गर्दै लगातार दोस्रो पटक फाइनलमा स्थान पक्का गर्न सफल भयो । अर्जेन्टिनाका लागि एन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजले गोल गरे ।
खेलको ५५औं मिनेटमा इंग्ल्यान्डका एन्थोनी गोर्डनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, अन्तिम समयमा इंग्ल्यान्डले आफ्नो अग्रता जोगाउन सकेन । ८५औं मिनेटमा कप्तान लियोनल मेसीको पासमा फर्नान्डेलले डिबक्स बाहिरबाट गरेको प्रहार गोल हुँदा अर्जेन्टिना खेलमा फर्कियो ।
दोस्रो हाफको अतिरिक्त समयको दोस्रो मिनेटमा मेसीकै पासमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई २–१ को जित दिलाए । मेसीले गोल्डन बुटको लोभमा आफै गोल गर्ने शैली त्यागेर टीम जिताउने भूमिका खेलेकै कारण अर्जेन्टिनाले लगातार दोस्रो पटक फाइनलमा पुगेको छ ।
सेमिफाइनल खेलमा बल पोजिसनमा पनि अर्जेन्टिना अघि रह्यो । अर्जेन्टिनाको ५ प्रहार सर्ट अन टार्गेट हुँदा इंग्ल्यान्डले २ प्रहार मात्र सर्ट अन टार्गेट राख्न सक्यो । खेलभर २६ वटा फाउल भएको छ । सुरुवाती चरणमा केही तनाव देखिए पनि खेल अवधिभर खासै उग्ररुप लिएन ।
यता सन् १९६६ मा उपाधि जितेको इंग्ल्यान्ड सेमिफाइनलमा तेस्रो पटक पराजित भएको छ । तीन पटकको विश्वविजेता अर्जेन्टिना सातौं पटक विश्वकपको फाइनलमा प्रवेश गरेको छ । अर्जेन्टिनाले उपाधिका लागि अब स्पेनसँग फाइलन खेल खेल्नेछ ।

















प्रतिक्रिया दिनुहोस्