गोरखा, २ असार । धार्चे गाउँपालिका–६ स्थित काशिगाउँ स्वास्थ्य चौकीमा मित्री माया गुरुङ काम गर्नुहुन्छ । गुरुङ अनमी हो । सधैँ उहाँ कार्यालय पुग्नेवित्तिकै सुरुमा हाजिर गर्नुहुन्छ । कोही बिरामी आएका छन् भने सेवा दिनुहुन्छ । यदि आएका छैनन् भने नजिकै रहेको वडा कार्यालय पुगिहाल्नुहुन्छ । दिनहुँ वडा कार्यालय नपुगी उहाँलाई सुखै छैन । बिदा बाहेक अन्य दिन उहाँको वडा कार्यालय र स्वास्थ्य चौकी आउजाउ गर्दैमा दिन बित्छ ।
तर, वडा कार्यालय उहाँ कसैको उपचारका लागि जाने भने हैन । उहाँ त्यस वडाको निमित्त ‘वडा सचिव’ पनि हो । दरबन्दी अनुसारको कर्मचारी पदपुर्ती नहुँदा उहाँले वडा कार्यालयको वडा सचिव र अनमी दुबैको जिम्मेवारी समाल्नु परेको छ । ‘स्वास्थ्य चौकीमा काम हुँदा यता आउँछु, वडा कार्यालयमा काम हुँदा उता जान्छु । दिनमा कति पटक यताउता आउजाउ गर्नुपर्छ गनिसाध्य छैन्’, उहाँले भन्नुभयो ।
वडा कार्यालयमा कार्यालय सहायक चन्द्रबहादुर गुरुङले सेवाग्राहीहरूको आवश्यक सबै डकुमेन्ट हेर्ने र सबै प्रक्रिया पूरा गर्नुहुन्छ । ‘कार्यालय सहायक हुनुहुन्छ, उहाँले आवश्यक सबै प्रक्रिया पूरा गर्नुहुन्छ, त्यसपछि मैले कागजातहरु हेरेर आधिकारिकता दिने, सिफारिस दिने लगायतका काम गर्छु’, उहाँले भन्नुभयो । यही गाउँपालिकाको ४ नम्बर वडा कार्यालयमा पनि लाप्राक स्वास्थ्य चौकीको इन्चार्ज धनबहादुर गुरुङले वडा सचिवको अख्तियारी लिएर काम गरिरहनुभएको छ ।
‘पहिलेका सचिव सरुवा भएर गए, नयाँ आएका छैनन् । गाउँपालिकाले अख्तियारी दिएपछि मैले नै वडा सचिवको पनि काम गरिरहेको छु’, गुरुङले भन्नुभयो । उहाँ गत पुस २०७८देखि वडा सचिवको रुपमा काम गरिरहनुभएको छ । स्वास्थ्य चौकी ईन्चार्ज भएर पनि वडा सचिवको पनि जिम्मेवारी निभाइरहेकामध्ये अर्को हुनुहुन्छ, सपनाकुमार घिमिरे । उहाँ धार्चे—५ गुम्दा स्वास्थ्य चौकी इन्चार्ज हो । तर, विगत वर्ष दिनयता उहाँले पनि वडा सचिव अख्तियारी लिएर काम गरिरहनुभएको छ ।
‘नितान्त स्वास्थ्यका कर्मचारी भएर प्रशासनिक क्षेत्रको काम गर्दा जटिलता त छँदै छ । त्यो खालको अनुभव र तालिम पनि छैन । तर, पनि अन्त सोधेर काम गर्नुपर्छ’, घिमिरेले भन्नुभयो । धार्चे गाउँपालिकामा ७ वटा वडा छ । तर, यहाँ दरबन्दीअनुसारका दुई वडामा मात्रै वडासचिव छन् । अन्य वडामा भने स्वास्थ्यकै स्थायी कर्मचारीलाई वडासचिवको अख्तियारी दिएर कार्यसम्पादन गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रुल बहादुर आलेले बताउनुभयो ।
‘दरबन्दीअनुसारको पदपूर्ति नहुँदा कार्यसम्पादनमा जटिलता र समस्या त छँदै छ । तर, पनि सेवाग्राहीको काम नरोकियोस्, सेवाग्राहीले दुःख नपाउन् भन्ने उद्देश्यले स्वास्थ्यकै कर्मचारीलाई अख्तियारी दिएर सेवा प्रदान गरिरहेका छौँ’, आलेले भन्नुभयो । गाउँपालिकाको तर्फबाट रिक्त कर्मचारीको पदपूर्तिका लागि प्रदेश लोकसेवा आयोग र संघको लोकसेवा आयोगसँग माग गरेको अध्यक्ष लक्ष्मण गुरुङ बताउँनुहुन्छ ।
‘रिक्त दरबन्दीमा पदपूर्ति गर्नका लागि गाउँपालिकाको तर्फबाट हामीले प्रदेश सरकार र संघ सरकारसँग पहल गरिरहेका छौँ । तर, पदपुर्ती नहुँदाको समयमा पनि सेवाग्राहीहरुले समस्या नै भोग्नुपर्ने अवस्था हुँदैन । भएका कर्मचारीहरुलाई परिचालन गरि हामी सेवा दिन्छौँ’, अध्यक्ष गुरुङले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्