काठमाडौं, असार ७ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आगामी चार वर्षे कार्यकालका लागि पंकजविक्रम नेम्वाङ अध्यक्षमा निर्वाचित भएसँगै राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको नेपाल नफर्किने संकेत दिनुभएको छ । सामाजिक सञ्जाल इन्स्टाग्राम–स्टोरीमा प्रशिक्षक अल्मुताइरीले नेपाली फुटबलप्रति सुखद् भविष्यको कामना गर्दै आफू नफर्किने संकेत गर्नुभएको हो ।
यद्यपि उहाँले त्यो स्टोरी भने हटाउनु भएको छ । हालै कुवेतमा एएफसी एसियम कप छनोट खेलेपछी अब्दुल्लाह गृहनगर नै हुनुहुन्छ । उहाँले टिम फर्कने समयमा चुनावको नतिजासँगै आफू फर्कने या नफर्कने तय हुने बताउनुभएको थियो । नेपाली राष्ट्रिय टिमको प्रशिक्षक हुँदै गर्दा प्रशिक्षक अल्मुताइरीले तत्कालीन वरिष्ठ उपाध्यक्ष नेम्वाङका कारण आफू पदबाट राजीनामा दिन एन्फा जान लागेको फेसबुकमा लेख्नुभएको थियो ।
तर उहाँले राजीनामा भने दिनुभएको थिएन । नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुर्याए पनि उहाँले नेपाल नफर्किने अभिव्यक्ति दिनुभएको थियो । एसियन कप छनोटको तेस्रो चरणका लागि आफ्नो देश कुवेत पुगेका अब्दुल्लाह तीन महिनाका लागि छुट्टिमा हुनुहुन्छ । एन्फाको सोमबार भएको निर्वाचनबाट नेम्वाङ ४५ मतसहित अध्यक्ष पदमा निर्वाचित हुँदा ३९ मत पाएका कर्मा छिरिङ शेर्पा पराजित हुनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्