जनता टाइम्स

४ असार २०८२, बुधबार १०:४५

काठमाडौँसहित ४५ जिल्लामा बाढीको जोखिम, सिन्धुपाल्चोकसमेत १८ वटाका लागि ‘एल्लो वारेन्ट’


काठमाडौं, ४ असार । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले हरेक दिनजस्तै आज (असार ४, बुधबार) पनि सम्भावित बाढीबारे जानकारी र होसियारीका लागि चेतावनी जारी गरेको छ।

बाढी महाशाखाले बिहान जारी गरेको बुलेटिनअनुसार आजसमेत आगामी ३ दिन कोसी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै पूर्वी राप्ती, पश्चिम राप्ती, कन्काई, कमला, बागमती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने भए पनि घटबढ भइरहने तथा नारायणी नदी र यसका प्रमुख सहायक नदीहरूको जलसतह सतर्कता तह आसपास रहने सम्भावना रहेकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सामान्य सतर्कता आवश्यक छ। अनि आज काठमाडौँसहित ४५ जिल्लामा बाढीको जोखिम देखिएको महाशाखाले जनाएको छ।

बाढी महाशाखाले जारी गरेको चेतावनीमा भनिएको छ : आज इलाम, पाँचथर, तेह्रथुम, खोटाङ, ओखलढुंगा, रामेछाप, ताप्लेजुङ, धनकुटा, भोजपुर, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, खोटाङ, काभ्रे, मकवानपुर, काठमाडौँ, ललितपुर, भक्तपुर, गोरखा, धादिङ, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, नवलपुर‍पूर्व, नवलपुरपश्चिम, चितवन, अर्घाखाँची, पाल्पा, रुपन्देही, बाँके, दाङ, प्युठान, जाजरकोट, बैतडी, दार्चुला, बझाङ, बाजुरा, डोटी, डडेलधुरा र आसपासका जिल्ला भई वहने अधिकांश ससाना नदीहरूमा बहाब सामान्य बढ्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउनहुन अनुरोध छ।

यी जिल्लामध्ये सिन्धुपाल्चोकसहित १८ वटालाई भने बाढी महाशाखाले पहेँलो रङ अर्थात् एल्लो वारेन्ट दिएको छ। यो सूचीमा संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, खोटाङ, काभ्रे, मकवानपुर, तनहुँ, लमजुङ, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, नवलपुर‍पूर्व, नवलपुरपश्चिम र चितवन छन्।

यो बुलेटिन तयार पार्ने हाइड्रोलोजिस्ट इन्जनियर विजय धुकुछुका अनुसार पहेलो रङले जलसतह सतर्कता तह आसपास पुग्ने र बाढीको मध्यम जोखिम रहेको संकेत गर्छ। अनि हरियो रङले जलसतह सतर्कता तहभन्दा तलै रहने र बाढीको न्यून जोखिम हुने संकेत गर्छ। सुन्तला रङले भने जलसतहले सतर्कता तह पार गर्ने र बाढीको उच्च जोखिम रहेको संकेत गर्छ। रातो रङले जलसतहले खतरा तह पार गर्ने र बाढीको अति उच्च जोखिम हुने संकेत गर्छ।