जनता टाइम्स

४ श्रावण २०७६, शनिबार १२:४२

राजश्व छल्न पाउनुपर्ने भन्दै आन्दोलनमा उत्रिए उद्योगी–ब्यवसायी


भैरहवा, साउन ४ । राजश्व छली रोक्न सरकारले लागू गरेको भेहिकल एन्ड कनसाइनमेन्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस) प्रणालीबिरुद्ध ढुवानी ब्यवसायी आन्दोलनमा उत्रिएका छन । राजश्व छल्न पाउनु पर्ने मागसहित उनीहरु भेहिकल ट्रयाकिङ सिष्टमको बिरुद्धमा लागेका हुन ।

ब्यवसायीको बिरोधका कारण राजस्व संकलनसमेत प्रभावित भएको छ । सरकारले साउन १ गतेबाट लागू गरेको यो प्रणालीको उद्योगी व्यवसायीले विरोध गर्दै आन्तरिक र बाह्य ढुवानी ठप्प पारेपछि राजस्व संकलन प्रभावित भएको हो । मालसामानको आन्तरिक ओसारपसारको अनलाइन निगरानीका लागि सरकारले यो प्रणाली लागू गरेको हो । तर उद्योगी व्यवसायीले आफ्नो ठगी धन्दा सकिने भयो भन्दै तयारी र पूर्वाधार बिनै भीसीटीएस प्रणाली लागू गरेको बहानाबाजी गरेर आन्दोलनमा उत्रिएका हुन ।

ढुवानीका नाममा राजश्वमा लुट मच्चाएका ठूला उद्योगी व्यवसायीले यो सिष्टमको बिरोधमा विदेशबाट आयात भएका र देशभित्र सामान ओसारपसार रोकेका छन । यसको प्रत्यक्ष असर राजस्व संकलनमा परेको छ । दैनिक करिब ३५ देखि ४० करोड राजस्व संकलन गर्ने देशको दोस्रो मुख्य ठूलो भैरहवा भन्सार कार्यालय हुँदै भित्रिने मालवाहक गाडीको संख्यामा कमी आएसँगै राजस्व संकलनसमेत प्रभावित भएको भैरहवा भन्सार कार्यालयका प्रमुख कमलकुमार भट्टराईले जानकारी दिनुभयो ।

भट्टराईका अनुसार दैनिक करिब ३५ देखि ४० करोड राजस्व संकलन हुने गरेकामा अहिले राजस्व असुलीसमेत घटेर दैनिक करिब ३/४ करोडमा सिमित भएको छ । भन्सार कार्यालयका अनुसार भीसीटीएस प्रणाली लागू भएको दिन साउन १ गते भारतबाट २६ वटा, साउन २ गते साल्ट ट्रेडिङ कर्पोरेसनको मल ल्याएका ४९ वटा र अन्य विभिन्न वस्तु बोकेका १९ वटासहित ६८ वटा मात्र मालवाहक गाडी भित्रिएको छन । भारतबाट दैनिक तीन सय ५० देखि ४ सय ५० को संख्यामा मालवाहक गाडी भित्रिने गरेकोमा ब्यापारीको आन्दोलनले ह्वात्तै घटेको हो ।

भारतबाट मालसामान लिएर आउने मालबाहक ट्रक र त्यहाँका ट्रान्सपोर्ट कम्पनीले नै नेपालका लागि सामानको लोड गर्न बन्द गरेका छन । भारतबाट आउने मालवाहक ट्रक भन्सार विन्दुबाट प्रवेश गरेसँगै नेपाल सरकारले सुरु गरेको भीसीटीएसमा जानुपर्ने मात्र नभइ भारतबाट सामान ढुवानी गर्दाको भाडामा नेपालमा मूल्य अभिवृद्धि करसमेत बुझाउनुपर्छ ।

भारतीय भूमिमा नेपाल प्रवेशका लागि मालवाहक ट्रकको लामो लाइन हुने भएपनि नेपालमा ढुवानी सम्बन्धमा प्रविधिमा आधारित नयाँ नियम लागू हुने खबर पाएपछि भारतका व्यवसायीले एक हप्ता अघिदेखि नै मालसामान लोड गर्न रोकेका थिए । भीसीटीएस प्रणालीको विरोधमा बुटवलमा उद्योगी व्यवसायीले प्रदर्शनसमेत गरेका छन ।