काठमाडौं, २४ असार– कृषि तथा पशुपंक्षीमन्त्री मृगेन्द्रकुमार सिंह यादवको नियुक्ति खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
०७४ मा प्रतिनिधिसभा सदस्यमा पराजित यादवलाई मन्त्री नियुक्त गरिएको भन्दै नियुक्ति र सपथ बदर गराउन माग गर्दै मंगलबार रेजिना पौडेलले रिट दायर गरेकी हुन् । यादव तत्कालीन राष्ट्रिय जनता पार्टी ९राजपा० का तर्फबाट ०७४ को निर्वाचनमा सप्तरी–४ बाट प्रतिनिधिसभा सदस्यमा काँग्रेसका तुजेलाल चौधरीसँग पराजित भएका थिए । तर, यादव २०७६ माघ ९ मा भएको निर्वाचनमा मधेश प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचित भएका थिए ।
जनता समाजवादी पार्टी ९जसपा० ले २० असारमा आफ्ना तीन मन्त्री फिर्ता बोलाएर नयाँ पठाएको थियो । संविधानको धारा ७४ को ४ मा प्रतिनिधिसभा निर्वाचनमा पराजित व्यक्ति त्यस्तो प्रतिनिधिसभाको कार्यकालभर मन्त्री पदमा नियुक्तिका लागि योग्य नहुने उल्लेख छ । तर, प्रतिनिधि सभामा उम्मेदवार भएर पराजित व्यक्ति राष्ट्रिय सभामा निर्वाचित भएमा मन्त्री बन्न योग्य हुनेरनहुनेबारे संविधान मौन छ ।
यादवको नियुक्तिलाई लिएर कानूनका ज्ञाताबीच मत बाझिएको छ । प्रमुख प्रतिपक्षी एमाले सम्वद्ध कानूनविद यादवको नियुक्ति अवैध भएको बताउँछन् ।
तर, सत्ताघटक सम्वद्ध दलनिकट कानूनविद भने गैरसांसदसमेत ६ महिनाका लागि मन्त्री हुने संवैधानिक व्यवस्था रहेकाले राष्ट्रियसभामा जितेका यादव मन्त्री बन्न मिल्ने तर्क गर्छन् ।













प्रतिक्रिया दिनुहोस्