धनगढी, २९ असार । सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल पदमुक्त हुनुभएको छ । मल्लले प्रदेशसभा सदस्यबाट राजीनामा गरेको घोषणा गर्दै पत्र स्वीकृत गराइदिन लेखेको पत्र सभामुख अर्जुनबहादुर थापाले प्रदेशसभामा पढेर सुनाएपछि उहाँ पदमुक्त हुनुभएको हो ।
बुधबार बसेको प्रदेशसभा बैठकमा सभामुख थापाले आफू आवद्ध पार्टीले साधारण सदस्य समेत नरहने गरी कारवाही गरेकाले पदबाट राजीनामा गरेको भन्दै असार १३ गते पठाएको पत्र प्रदेशसभामा पढेर सुनाउदै उहाँ पदमुक्त भएको घोषणा गर्नुभएको हो ।२०७४ सालको निर्वाचनमा डडेल्धुराबाट प्रदेशसभा सदस्य विजयी मल्ललाई नेपाली कांग्रेसले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेपछि उहाँले प्रदेशसभा सदस्य त्यागेको घोषणा गर्नुभएको थियो ।
गत वैशाखमा पद त्यागेको घोषणा गरेपनि प्रदेशसभाबाट प्रदेशसभा सदस्यको हैसियतमा पाउने सेवासुविधा वापतको रकम भने बुझिरहुनभएको थियो । कांग्रेसले पार्टी विधान विपरीत क्रियाशील सदस्यता बाँडेर डडेल्धुराको जिल्ला अधिवेशन गरेको भन्दै मल्ल पक्षले बहिष्कार गरेको थियो । सोही विषयलाई लिएर विवाद बढ्दै गएपछि कांग्रेसलाई मल्ललाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको थियो । निष्कासन गरेपछि उहाँले डडेल्धुरामा पत्रकार सम्मेलनको आयोजना गर्दै सुदूरपश्चिम प्रदेशसभा सदस्य पदमा नरहने घोषणा गर्नुभएको थियो , तर सभामुखलाई राजीनामा नबुझाएका कारण उहाँको पद कायमै थियो । वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा मल्लले कांग्रेस बीपीबाट नेकपा एमालेसँग चुनाव तालमेल गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्