काठमाडौं, साउन ३ । मध्यराती बिचौलिया प्रवेश गराई करको दर हेरफेर गराएको र सिसीटिभी फुटेज मेटाएको बिषयमा संसदीय विशेष छानविन समितिले तात्कालिन अर्थमन्त्री जनार्दन शर्मालाई बयानका लागि बोलाएको छ ।
तात्कालिन अर्थमन्त्री शर्माविरुद्ध लागेको आरोपमाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको आज बसेको बैठकले शर्मालाई बुधबार बोलाएर बयान लिने निर्णय गरेको हो । छानविन समिति गठनसँगै शर्माले अर्थमन्त्रीबाट राजीनामा दिनुपरेको थियो । समितिले आफ्नो प्रतिवेदनलाई अन्तिम रुप दिनुअघि शर्मासँग बयान लिन लागेको हो ।
छानबिन प्रक्रिया अन्तिम चरणतर्फ गएकोले शर्मासँग बयानलिन लागेको हो । समितिले हालसम्मको छानविनको क्रममा अर्थ मन्त्रालयले बजेट निर्माणको चरणमा भएको सिसीटिभी फुटेज मेटाएको तथ्य फेला पारेको छ । शर्मासँग सो बिषयमा समेत समितिले बयान लिने बताएको छ । समितिले यही बिहीबारसम्ममा आफ्नो प्रतिवेदन बुझाउनुपर्ने छ ।
असार २२ गते प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको माग बमोजिम प्रतिनिधि सभाका सांसदहरू सम्मिलित विशेष छानबिन समिति गठन भएको थियो । समितिमा ११ जना सांसद रहेका छन ।
तात्कालिन अर्थमन्त्री शर्मामाथि चालू आर्थिक वर्षको बजेट बनाउने क्रममा जेठ १४ गते मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराएर करका दरहरू हेरफेर गरेको आरोप लागेको थियो । सो बिषय सार्वजनिक भएसँगै सिसीटिभी फुटेज मेटाएको पाइएपछि शर्माले राजीनामा दिनुपरेको थियो ।













प्रतिक्रिया दिनुहोस्