काठमाडौँ, १९ साउन । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रार पदमा नियुक्त डा. सूर्य सङ्ग्रौलाको सो पदका लागि शैक्षिक मापदण्ड नै नपुग्ने खुलेको छ।
रजिस्ट्रारका लागि तोकिएको शैक्षिक योग्यता नभए पनि कांग्रेस नेतृ डिला सङ्ग्रौलाका श्रीमान् समेत रहेका उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले रजिस्ट्रारमा नियुक्त गरेको खुलेको हो। स्वास्थ्य मन्त्री खापुङले साउन १३ गते सङ्ग्रौलालाई पाँच वर्षका लागि प्रतिष्ठानको रजिस्ट्रार पदमा नियुक्त गर्ने निर्णय गर्नुभएहो ।
‘स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री एवं प्रतिष्ठानका सहकुलपतिस्तरको मिति २०७९-०४-१३ को निर्णय अनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९ को दफा ११ ग को उपदफा (१) बमोजिम प्रतिष्ठानको रजष्ट्रिार पदमा ५ वर्ष पदावधि रहने गरी मनोनयन गरिएको पत्रमा उल्लेख छ।
नियुक्ति र मनोनयन सम्बन्धी मापदण्डको बुँदा ‘४’ ‘घ’ को (२) मा रजिस्ट्रारको हकमा मान्यता प्राप्त शिक्षण संस्थाबाट चिकित्साशास्त्र, जनस्वास्थ्य, अस्पताल प्रशासन, व्यवस्थापन विषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरेको योग्यता तोकिएको छ।सँगै सम्बन्धित क्षेत्रमा कम्तीमा दश वर्ष काम गरेको वा मान्यता प्राप्त शिक्षण संस्थाबाट चिकित्साशास्त्र वा स्वास्थ्यसँग सम्बन्धित विषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी मन्त्रालय सम्बद्ध निकायमा कम्तीमा नवौँ तह वा सो सरहको पदमा काम गरेको’ व्यक्ति रजिस्ट्रार पदमा नियुक्तिका लागि योग्य हुने उल्लेख छ।
तर सङ्ग्रौलाले मानविकी र सामाजिक शास्त्राचार्य (अर्थशास्त्र) अध्ययन गर्नुभएको छ। उहाँको शैक्षिक योग्यता र रजिस्ट्रारका लागि तोकिएको शैक्षिक योग्यता नै मिलेको देखिएन। रजिस्ट्रार नियुक्तिका लागि डा. सङ्ग्रौलाको शैक्षिक योग्यता नमिलेको बारे नियुक्तिको निर्णय अगाडि नै छलफल भएको मन्त्रालयस्रोतले बतायो। स्वास्थ्य सचिव पनि यसबारे जानकार भएपनि प्रधानमन्त्री देउवाले नियुक्त गर्न जोडबल गरेपछि स्वास्थ्य मन्त्रीले अस्वीकार गर्न नसकेको स्रोतले बतायो ।
उाँह नियुक्त हुनु अगाडि मन्त्रालयमा शैक्षिक योग्यताबारे कुरा भएको उहाँले स्विकार गर्नुभएको छ। उहाँले स्वास्थ्य मन्त्रालयले आफूलाई शैक्षिक योग्यताको विषयमा प्रश्न उठाएको स्वीकार गर्दै भन्नुभयो ,‘यो कुरा मन्त्रालयले गरेको थियो मलाई। मैले मन्त्रालयमा यो–यो हो भनेर सिधै भनेको हो।’ शैक्षिक मापदण्ड नमिले पनि नियुक्त भएको विषयलाई भने उहाले स्वीकार गर्नुभएन । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९ को परिच्छेद–४ मा ‘प्रतिष्ठानका पदाधिकारी, शिक्षक तथा कर्मचारीको सेवा, सर्त सम्बन्धी व्यवस्था’ छ भने दफा–११ ‘ग’ मा ‘शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्ति’ सम्बन्धी व्यवस्था छ।
प्रतिष्ठान ऐनको दफा–११ ‘ग’ को उपदफा (१) मा भनिएको छ,‘उपकुलपतिको सिफारिसमा सहकुलपतिले प्रतिष्ठानको शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशकको नियुक्ति गर्ने,उल्लेख छ। ‘स्वास्थ्य मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३’ अनुसार प्रतिष्ठानको रजिस्ट्रारमा नियुक्तिका लागि शैक्षिक योग्यताको मापदण्ड मिलेको देखिँदैन। सो नियुक्ति र मनोनयन सम्बन्धी मापदण्डको बुँदा ‘४’ मा पदाधिकारी तथा सदस्य नियुक्ति वा मनोनयनका लागि योग्यता तोकिएको छ। मापदण्डको बुँदा ‘४’ ‘घ’ मा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९ को दफा–११ ‘ख’ र दफा ११ ‘ग’ बमोजिमको उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रार पदमा नियुक्तिको लागि योग्यता तोकिएको छ।
नियुक्ति र मनोनयन सम्बन्धी मापदण्डको बुँदा ‘४’ ‘घ’ को (२) मा रजिस्ट्रारको हकमा मान्यता प्राप्त शिक्षण संस्थाबाट चिकित्साशास्त्र, जनस्वास्थ्य, अस्पताल प्रशासन, व्यवस्थापन विषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी सम्बन्धित क्षेत्रमा कम्तीमा दश वर्ष काम गरेको वा मान्यता प्राप्त शिक्षण संस्थाबाट चिकित्साशास्त्र वा स्वास्थ्यसँग सम्बन्धित विषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी मन्त्रालय सम्बद्ध निकायमा कम्तीमा नवौँ तह वा सो सरहको पदमा काम गरेको’ व्यक्ति रजिस्ट्रार पदमा नियुक्तिका लागि योग्य हुने उल्लेख छ। तर मानविकी र सामाजिक शास्त्राचार्य (अर्थशास्त्र) अध्ययन गरेका सङ्ग्रौलालाई प्रतिष्ठानमा रजिस्ट्रार नियुक्त गरिएको छ । सङ्ग्रौलाको शैक्षिक प्रमाणपत्रले प्रतिष्ठानमा रजिस्ट्रार नियुक्त हुनका लागि आवश्यक शैक्षिक योग्यता पुगेको देखिँदैन।













प्रतिक्रिया दिनुहोस्