काठमाडौ, १२ भदौ । गए रातिको बाढीले मेलम्ची–हेलम्बु सडकअन्तर्गत मेलम्ची–११ मा सडक अवरुद्ध भएको छ । सीमखेत नजिकै नदी सडकमा पसेर कटान गर्दा यातायातका साधन सञ्चालनमा समस्या आएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।
सडक अवरुद्ध हुँदा हेलम्बु गाउँपालिका र मेलम्चीको वडा नं ६ र ७ का स्थानीय प्रभावित भएका छन् । सिन्धुपाल्चोकको धाप र आसपासको क्षेत्रमा पछिल्लो छ घण्टामा भारी वर्षा मापन गरिएको छ । मध्यरातदेखि बिहानसम्म पनि वर्षा जारी रहेकाले सो क्षेत्र भई बहने स–साना नदीमा आकस्मिक बहाव हुने हुँदा तटीय क्षेत्र तथा पहिरो जान सक्ने भएकाले भिरालो जमिनमा बिहानसम्मै उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । यसैबीच मेलम्ची खोलामा पनि बाढी आएको मेलम्ची– ६ तालामाराङका योगबहादुर अर्यालले बताए । हेलम्बु र मेलम्चीका नदीतटका बासिन्दा पानी पर्नेबित्तिकै समस्यामा पर्ने गरेका छन् ।













प्रतिक्रिया दिनुहोस्