जनता टाइम्स

४ आश्विन २०७९, मंगलवार १७:२९

यसकारण शौचालयभित्र जडित गरियो सिसिटिभी क्यामरा


चीन, ४ असोज । एउटा चिनियाँ कम्पनीले ट्वाइलेट बुथ माथि सिसिटिभी क्यामेरा जडान गरेको भन्दै आक्रोश व्यक्त गरिएको छ । कर्मचारीले आफ्नो ‘टोयलेट ब्रेक’ मा के गर्छन् भनेर अनुसन्धान गर्न सिसिटिभी जडान गरेका थिए । कामका बेला शौचालय प्रयोग चीनमा लामो समयदेखि विवादास्पद विषय बनेको छ ।

विगतमा, शौचालयमा धेरै समय बिताएकोमा कर्मचारीको तलब कटौती गर्ने कम्पनीहरू, दिनमा एक पटकभन्दा बढी शौचालय प्रयोग गरेकोमा कामदारहरूलाई जरिवाना गर्ने कम्पनीहरू र शौचालयका बुथहरूमा टाइमर जडान गर्ने कम्पनीहरूको बारेमा पनि पढ्न पाइएको छ । तर फुइजान प्रान्तस्थित जियामेनको एउटा टेक्नोलोजी कम्पनीले जे गरेको छ, त्यो माथि दिइएका उदाहरणभन्दा पनि बढी विवादास्पद छ ।

उक्त कम्पनीले बाथरुम ब्रेकमा कुन कुन कर्मचारीले मोबाइल फोन चलाउँछन् भनेर निगरानी गर्न सिसिटिभी जोडेको थियो । बाथरुममा जडान गरिएको सिसिटिभी क्यामराको फुटेज चिनियाँ सोसल मिडियामा पछिल्लो समय निकै भाइरल भइरहेका छन् । लिथियम ब्याट्रीको उत्पादनमा विशेषज्ञता हासिल गर्ने सरकारी स्वामित्वको कम्पनी सियामेनमा रहेको चाइना एभिएसन लिथियम ब्याट्री टेक्नोलोजी कम्पनी लिमिटेडको बाथरूमको पृष्ठभूमिलाई चिन्न धेरैलाई लामो समय लागेन ।

फोटोमा देखाइएका तीनजना व्यक्तिमध्ये दुईजनालाई जागिरबाट निष्कासन गरिएको र तेस्रोलाई गम्भीर दण्ड स्वरुप मासिक प्रदर्शन शून्यमा झारिएको बताइएको छ । तस्बिरहरू भाइरल भएपछि चाइना एभिएसन लिथियम ब्याट्री टेक्नोलोजी कम्पनी लिमिटेडलाई समाचार एजेन्सीहरुले सम्पर्क गर्न थालेपछि, कम्पनीले एउटा विज्ञप्ति जारी गर्दै लीक गरिएका फोटोहरू आफ्नो सिसिटिभी क्यामराले रेकर्ड गरेको स्वीकार गरे ।

तर, कम्पनीको शौचालयभित्र कसले धुम्रपान गर्छ भनेर निगरानी गर्ने उद्देश्यले यस वर्ष मात्रै क्यामेरा जडान गरिएको कम्पनीले जानकारी दिएको छ । तर कारण जे जस्तो भएपनि शौचालयमा सिसिटिभी जडान गर्नुलाई कुनै पनि हालतमा स्विकार्य नहुने धेरैले बताएका छन् । ‘ओह माई गड ! गोपनियताको कुरा खोई त ?’ एकजना वेबो प्रयोगकर्ताले सोध्नुभयो । ‘उनीहरुले मानिसलाई जनावर झैँ व्यवहार गर्छन्, रत्तिभर पनि सम्मान छैन, मानवताको खोई ?’ अर्काले प्रश्न गर्नुभयो ।