साउदी, असोज ७ । साउदी अरवको जेद्दास्थित श्रमसहचारी प्रेमप्रसाद उपाध्याय आफ्नो शक्तिका दुरुपयोग गर्दै कमाउ धन्दामा लागेको समाचार छ । श्रम सहचारी उपाध्यायले म्यानपावर कम्पनीले विभिन्न रोजगारदाता कम्पनीबाट ल्याएको डिमाण्ड प्रमाणीकरणमा ढिलासुस्ती गर्दै अनावश्यक दुःख दिने काम समेत गर्दै आएको पाइएको छ ।
ब्यवसायीहरुका अनुसार उपाध्यायले एउटै कम्पनीबाट आएका डिमाण्ड प्रमाणीकरण गर्न ढिलो गर्दा रोजगारदाता कम्पनीले कोटासमेत कटौती गर्न थालेका छन । गत जनवरी २० मा द–रिभर ओभरसिजले इसान कब्बानी एन्ड पार्टनर कम्पनीबाट ल्याएको ९७ वटा कोटा डिमाण्ड प्रमाणीकरणका लागि नेपाली महावाणिज्यदूतको कार्यालयमा पेस गरेको थियो ।
फेरि त्यही कम्पनीको ग्लोबल सोर्सिङ सर्भिसेस म्यानपावरले ९ दिन पछाडि ९७ वटै मागपत्र पेस गरेको थियो । तर श्रम सहचारी उपाध्यायले पहिला बुझाउने कम्पनीलाई कुनै जानकारी नै नदिई भने रिभरको ८० वटा डिमाण्ड प्रमाणीकरणको प्रक्रिया नै रद्द गरिदिनु भएको छ । उपाध्यायले रिभरको जस्तै मागपत्र भएको ग्लोबल सोर्सिङ सर्भिसेस म्यानपावरको डिमाण्ड भने प्रमाणीकरण गरेको पाइएको छ । यो म्यानपावरले पनि ९७ वटै कोटा पेस गरेकोमा उपाध्यायले ८० वटा मागपत्र प्रमाणीकरण गरेको पाइएको हो ।
मागपत्र पेस गरेको सात दिनपछि बिदाका कारण उपाध्यायले डिमाण्ड रद्द गरेको रिभरको आरोप छ । भिसा प्रमाणीकरण निर्देशिकामा रोजगारदाता कम्पनीबाट आएको डिमाण्ड आवेदन परेको एक साताभित्र स्वीकृति अथवा प्रमाणीकरण गर्नुपर्ने व्यवस्था रहेको छ । डिमाण्ड प्रमाणीकरण रद्द भएको विषयमा जानकारी लिन खोज्दा श्रम सहचारी उपाध्यायले उल्टै धम्की दिने गर्नुभएको छ ।
रिभरको डिमाण्डमा कम्पनीले कामदारका लागि लाग्ने शुल्कसमेत तिरिसकेको र मागपत्र रद्द हुँदा रोजगारीसमेत गुमेको रिभर ओभरसिजको गुनासो छ । मागपत्र रद्द भएको विषयमा श्रमसहचारी उपाध्यायसँग जानकारी लिन पटक–पटक फोन गर्दा कुनै प्रतिक्रिया नदिने गरेको रिभरका सञ्चालक रघु पुरीले जनताडाइम्स डटकमलाई बताउनु भयो ।
आफै जानाजान गल्ती गर्ने र दुःख दिने श्रमसहचारी उपाध्यायले उल्टै रिभरका सञ्चालक पुरीले धम्क्याएको आरोप पनि लगाउनु भएको पाइएको छ । तर पुरीले आफू धम्कीमा नभई कानुनमा बिश्वास गर्ने भएकोले यस्तो आरोप आफ्नो बदमासी ढाकछोपको प्रयाश हो भन्नुहुन्छ । ‘म व्यवसायी हुँ । व्यवसायीलाई सहजीकरण गर्न बसेको सेवकलाई किन धम्क्याउँछु । मेरो कम्पनीले वैदेशिक रोजगार ऐनभित्र बसेर मागपत्र पेस गरेको छ, कानूनअनुसार काम गरेको छ,’ पुरीले भन्नुभयो, ‘सानो समस्याले गर्दा रोजगारदाता कम्पनी र व्यवसायीबीच समस्या सिर्जना हुन्छ । यो त सम्बन्धित पक्षले बुझ्नुपर्ने विषय हो ।’
साउदीस्थित दूतावासका एक कर्मचारीका अनुसार उपाध्यायले जेद्दामा समस्यामा परेका कामदारलाई समेत राम्रो व्यवहार नगर्ने गरेको पाइएको छ । उपाध्यायले अहिले दूतावासअन्तर्गत साउदीको जेद्दा हेर्दै आउनु भएको छ । श्रमसहचारी उपाध्यायले डिमाण्ड प्रमाणीकरणमा समेत विभेद गर्दै आएको म्यानपावर व्यवसायीहरूको गुनासो छ । सहचारी उपाध्यायले नेपालका केही म्यानपावर व्यवसायीसँग साँठगाँठ गरी भिसा कारोबारमा संलग्न रहेको पाइएको हो ।
प्रतिक्रिया दिनुहोस्