जनता टाइम्स

५ कार्तिक २०७९, शनिबार ०४:५९

चुनावी सुरक्षाबारे मानव अधिकार आयोगको चासो


काठमाडौं, ४ कात्तिक । राष्ट्रिय मानव अधिकार आयोगले चुनावी सुरक्षाबारे सुरक्षा अधिकारीसँग छलफल गरेको छ । छलफलमा राष्ट्रिय मानव अधिकार आयोगका कार्यवाहक अध्यक्ष डा. सूर्य ढुङ्गेलले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायको भूमिका महत्वपूर्ण हुने बताउनुभएको थियो ।

सुरक्षा व्यवस्थामा आपसी सहकार्य र समन्वय हुनुपर्नेमा पनि उनले जोड रहेको आयोगका सहसचिव एवं प्रवक्ता डा. टीकाराम पोखरेलले बताउनुभयो । सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिले शान्तिसुरक्षाको वर्तमान अवस्था, विगतको निर्वाचनको सुरक्षा अनुभव, आगामी निर्वाचनमा आउनसक्ने सुरक्षा चुनौतीलाई ख्याल गरेरै सुरक्षा तयारी गरिएको बताएका छन् ।

छलफलमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक युवराज अर्याल एवम् सुरक्षा निकायका अधिकृत लगायतको उपस्थिति थियो ।