जनता टाइम्स

२७ कार्तिक २०७९, आईतवार १८:००

कर्णालीलाई सुगम बनाउनु छ : अध्यक्ष ओली


मान्म, २७ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कर्णालीको विकटता सुगमतामा बनाउनु पर्ने बताउनुभएको छ । एमालेले कालीकोटको रास्कोटमा आयोजना गरेको चुनावीसभालाई आइतबार सम्बोधन गर्दै उहाँले कर्णालीका धेरै ठाउँमा पुगेका सडकहरूलाई पक्की बनाई सुगम बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

‘सडक त पुगेको छ, पक्की सडक बनाउनु छ, विकटता छ’, उहाँले भन्नुभयो,‘यसलाई सुगम गर्न जरुरी छ । सुगम बनाउन सजिलो पनि छैन ।’ अध्यक्ष ओलीले कर्णालीका विकासको खाका एमाले पार्टीले कोरेको बताउनुभयो ।

‘हामीले देश विकासका लागि सुरुङ बनाउन, स्वास्थ्य क्षेत्रमा विकास, पूर्वाधार क्षेत्रमा विकासको सुरुआत गरेका छौँ’, उहाँले भन्नुभयो,‘यी डाँडाकाँडाहरूमा सधैँ रोजगारी पाउने र आम्दानीको स्रोत बढाउने गरी विकास गर्न आवश्यक छ ।’ अब केही दिनपछि चुनाव आउँदैछ भन्दै अध्यक्ष ओलीले निर्वाचनले यो देश कता जाने भन्नेबारे फैसला गर्ने बताउनुभयो । ‘यो देशको राष्ट्रियता, स्वतन्त्रता, स्वाभिमान माथि उठाउने र स्वाधीन बनाउने मौका आएको छ’, उहाँले भन्नुभयो ।