जनता टाइम्स

२३ मंसिर २०७९, शुक्रबार १७:०८

भुवन नगरकोटीलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि


काठमाडौं, २३ मंसिर । पूर्व नम्बर एक गल्फर भुवन नगरकोटीले सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जित्नुभएको छ । सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत सिजनको पहिलो प्रतियोगितामा दिनेश प्रजापतिलाई नौ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै नगरकोटी विजेता बन्नुभएको हो । भुवनले ४–अन्डर ६४ को स्कोरसहित समग्रमा १४–अन्डर २ सय ५८ को नतिजामा उपाधि जित्नुभएको छ ।

उपाधिसहित भुवनले एक लाख १६ हजार प्राप्त गर्नुभयो । उहाँको यो खेल करियरको दशौं उपाधि हो । ६–अन्डर ६२ को कार्ड बनाउन सफल दिनेश प्रजापति ५–अन्डर २ सय ६७ सहित दोस्रो हुनुभयो । उहाँले ७८ हजार प्राप्त गर्नुभयो । इभन–पार ६८ स्कोर जोडेका शुक्रबहादुर राईले समग्रमा १–अन्डर २ सय ७१ को नतिजामा तेस्रो स्थानमा चित्त बुझाउनुभयो ।

पहिलो दुई दिनका लिडर रवि खड्काले ४–ओभर ७२ स्कोरमा खेल सकाउँदा समग्रमा ३–ओभर २ सय ७५ मा चौंथो स्थान प्राप्त गर्नुभयो । तेस्रो र चौंथो भएका शुक्र र रविले क्रमशः ६३ हजार र ५० हजार प्राप्त गर्नुभयो ।

नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनको आयोजना र सूर्य नेपालको प्रायोजनमा जारी सिजनको पहिलो प्रतियोगितामा ३१ प्रोफेसनल र पाँच एमेच्योर खेलाडीले सहभागिता जनाएका थिए । विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका मार्केटिङ म्यानेजर केशव प्रधान र एनपिजीएका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले पुरस्कार वितरण गर्नुभयो ।