कतार, मंसिर २५ । इंग्ल्यान्डका कप्तान ह्यारी केनले दोस्रोपल्ट पाएको पेनाल्टीमा बल पोस्टमाथि प्रहार गरेपछि डिफेन्डिङ च्याम्पियन फ्रान्स विश्वकप २०२२ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
अल बायत रंगशाला, अल खोरमा शनिबार भएको विश्वकप २०२२ को अन्तिम क्वार्टरफाइनलमा २-१ को जित हात पार्दै फ्रान्स अन्तिम चारमा प्रवेश गरेको हो । शनिवार राती भएको खेलमा इंग्ल्यान्ड बलियो देखिए पनि मिडफिल्डमा छाइरहेका एन्टोइन ग्रिजमनको लोभलाग्दो क्रसमा ओलिभर जिरोडको हेडर गोलमा फ्रान्स ७८ औं मिनेटमा २–१ ले अगाडि बढेको थियो ।
तर, ८४ औं मिनेटमै इंग्ल्यान्डले बराबरी गर्ने राम्रो अवसर पायो । डिफेन्डर थियो हर्नान्डेजले सब्स्टिच्युट मेसन माउन्टलाई पेनाल्टी क्षेत्रमा फउल गरेपछि इंग्ल्यान्डले पेनाल्टी पायो । तर, कप्तान केनले पेनाल्टीमा प्रहार गरेको बल गोलपोस्टमाथिबाट बाहिरिएपछि इंग्ल्यान्डको सन् १९६६ यता पहिलोपल्ट उपाधि जित्ने सपना कतारमा पनि अधुरै रह्यो ।
प्रशिक्षक गारेथ साउथगेटको टिम इंग्ल्यान्ड चार वर्षअघि सेमिफाइनल पुगेको थियो । फुटबलको जन्मदाता इंग्ल्यान्ड सातौंपल्ट विश्वकपको क्वाटरफाइनलबाट बाहिरिएको हो । ब्राजिल ९सन् (१९५८ र १९६२) पछि विश्वकपको उपाधि रक्षा गर्ने पहिलो टिम बन्ने अभियानमा फ्रान्स रहेको छ। विश्वकपमा इंग्ल्यान्डविरुद्धको पहिलो जितले यो फ्रान्सेली टिम ब्राजिल (१९९८) पछि सेमिफाइनल पुग्ने पहिलो डिफेन्डिङ च्याम्पियन पनि बन्यो ।
फ्रान्सेली मिडफिल्डर उरेलिन चाउमेनीले २५ यार्डबाट प्रहार गर्दै १७ औं मिनेटमा गोलको खाता खोलेका थिए । ग्रिजमनले दिएको बलमा चाउमेनीले प्रहार गरेपछि इंग्ल्यान्डका गोलकिपर जोर्डन पिकफोर्डले सही दिशामा डाइभ गरेपनि बल रोक्न सकेनन् । यिनै चाउमेनीले प्रभावशाली प्रदर्शन गरिरहेका बुकायो साकालाई फउल गर्दै लडाएपछि ५४ औं मिनेटमा पाएको पेनाल्टीमा केनले टोटेनहमका सहकर्मी गोलकिपर ह्युगो लोरिसलाई कुनै अवसर नदिई गोल गर्दै इंग्ल्यान्डलाई १–१ को बराबरीमा पुर्याएका थिए । तर, दोस्रोपल्ट बराबरीको लागि पाएको पेनाल्टीमा भने केन गोल गर्न असफल रहे ।

विश्वकपमा पेनाल्टीमा सबभन्दा बढी ४ गोल गर्ने खेलाडी बनेका केनले इंग्ल्यान्डको लागि सर्वाधिक ५३ गोलको वायनी रोनीको कीर्तिमान पनि बराबरी गरे । दोस्रो पेनाल्टीमा चुकेपछि कीर्तिमान एक्लैको नाममा बनाउदै खेल बराबरी गर्ने अवसर पनि गुमाए ।
अर्कोतर्फ, जिरोडले पनि यो विश्वकपमा चौथो गोल गरेसगै फ्रान्सको लागि सर्वाधिक गोलमा आफ्नो कीर्तिमानलाई ५३ गोल बनाए । कप्तान लोरिसले पनि फ्रान्सको लागि सर्वाधिक १ सय ४३ खेल खेलेको कीर्तिमान बनाए । यी ३५ वर्षीय गोलकिपरले लिलियम थुराम ९१४२ खेल० लाई उछिनेका हुन् ।
फ्रान्सले फाइनल प्रवेशको लागि बुधबार मोरक्कोविरुद्ध खेल्ने छ । मोरक्को शनिबारको पहिलो खेलमा पोर्चुगललाई १(० ले स्तब्ध पार्दै विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी टिम बनेको हो ।













प्रतिक्रिया दिनुहोस्