जनता टाइम्स

८ पुष २०७९, शुक्रबार १७:२१

गठबन्धनको लक्ष्य नै छैन, वामपन्थीहरु एक ठाउँमा उभिन आवश्यक : शंकर पोखरेल


सुर्खेत, ८ पुस । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सत्ता गठबन्धन लक्ष्यविहीन भएको भन्दै वामपन्थीहरु एक ठाउँमा उभिनपर्ने बताउनु भएको छ । आज सुर्खेतमा आयोजित नेपाल पत्रकार महासंघको साधारणसभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले अहिलेको गठबन्धन जनताका लागि नबनेको बताउनुभयो । महासचिव पोखरेलले मुलुकमा अब बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताउनुभयो ।

उहाँले यो जनादेशले मुलुकलाई सहि बाटोमा अघि बढाउन नसक्ने समेत बताउनुभयो । महासचिव पोखरेलले भन्नुभयो, ‘अहिलेको गठबन्धन लक्ष्यविहीन छ । वामपन्थीहरु एक ठाउँमा उभिनुपर्छ, यो गठबन्धनको जनताका लागि बनेको होइन ।’ ‘वामपन्थीहरु एक ठाउँमा उभिन आवश्यक छ । यो नै मुलुकको लागि फाइदाजनक हुन्छ । गठबन्धन समाधान होइन, गठबन्धनबाट भविष्य निर्माण हुँदैन,’ उहाँले भन्नुभयो, ‘इतिहासबाट पाठ लिउँ तर भारी नबोकौं । भविष्य कस्तो बनाउने भन्ने कुरामा ध्यान दिन आवश्यक छ ।’

महासचिव पोखरेलले राज्य सञ्चालनमा स्वार्थको सौदाबाजी भइरहेको समेत बताउँदै नयाँ जनादेशलाई सम्मान गर्ने कुरामा साझा दृष्टिकोण बनाउनु पर्ने बताउनुभयो । नेपाली राजनीतिमा विश्व राजनीतिको प्रभाव पर्दै गएको बताउँदै उहाँले योबारे सुझबुझ राख्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘विश्व राजनीतिको प्रभाव नेपाली राजनीतिमा परिरहेको छ भन्ने कुरा किन हामीले बुझ्दैनौँ ?’