अघिल्लो दिन अर्थात् शनिबार मात्र ओलीले ‘प्रचण्डको प्रधानमन्त्री हुने रहर अब पूरा हुँदैन । उहाले समयमै कदम चाल्न सक्नुभएन’ भन्नुभयो ।सम्भवतः यो राजनीतिक चालबाजी थियो । कांग्रेस सभापति शेरबहादुर देउवालाई यही कथनले पनि दाहालसँग अडान राखिरहन बल पुर्यायो
गणेश बस्नेत
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निर्वाचनपछि धेरैले सोध्ने एउटै प्रश्न थियो, ‘सरकारमा जानेबारे एमालेले के सोच्दैछ ?’ ओलीको जवाफ हुन्थ्यो, ‘अहिल्यै चासो राख्यो भने बाच्छालाई हात्तीको भाउ भन्छन । चुप लागेर बस्यो भने अन्त्यमा त्यही बाच्छो बोकाको भाउमा पाइन्छ ।’
भयो पनि त्यस्तै । ओलीले चुप लागेरै आफूलाई बालुवाटारबाट षडयन्त्रपुर्वक फिर्ता गराएको अपमानलाई सहेर परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको गठबन्धन भत्काइ दिनुभयो । आफूलाई तथानाम गाली गरेर देउवा नेतृत्वको गठबन्धनमा सामेल भई निर्वाचनमा तेस्रो बनेको नेकपा माओवादी केन्द्रका अध्यक्षलाई प्रधानमन्त्री बनाएर देउवाबाट खोसेर सत्ता आफ्नो हातमा लिन सफल बन्नुभयो ।
राष्ट्रपति बिद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेको समय घर्कन लाग्दा आइतबार राष्ट्रपति, सभामुख र आधा कार्यकालपछि प्रधानमन्त्री पाउने गरी ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई पहिलो लटमै प्रधानमन्त्री बनाउनु भयो । अघिल्लो दिन अर्थात् शनिबार मात्र ओलीले ‘प्रचण्डको प्रधानमन्त्री हुने रहर अब पूरा हुँदैन । उहाले समयमै कदम चाल्न सक्नुभएन’ भन्नुभयो ।सम्भवतः यो राजनीतिक चालबाजी थियो । कांग्रेस सभापति शेरबहादुर देउवालाई यही कथनले पनि दाहालसँग अडान राखिरहन बल पुर्यायो ।

कांग्रेस सभापति देउवा सहमतिबिनै आइतबार ५ बजे गुजार्न चाहनु हुन्थ्यो । त्यसपछि संविधानको धारा ७६ (३) अनुसार सबैभन्दा ठूलो दलको संसदीय दलको नेताका हैसियतमा प्रधानमन्त्री बन्ने अपेक्षामा हुनुहुन्थ्यो देउवा । त्यसो गर्दा १ महिनाभित्र विश्वासको मत लिँदा पुग्थ्यो । त्यहीबीच बाँकी सहमति जुटाउने ‘उधारो बाटो’ मन पराउनु भएको थियो देउवाले । तर, त्यसलाई अन्तिम समयमा ओलीले पल्टाइ दिनुभयो ।
ओलीले प्रचण्डलाई प्रधानमन्त्री बन्न आवश्यक बहुमत जुटाइसकेको कारण बालुवाटारबाट आउनोस प्रधानमन्त्री नै बनाउँछु भन्दै देउवाले गर्नुभएको फोनलाई प्रचण्डले अवसर मिल्यो भने फेरि सहकार्य गरौंला, अहिलेलाई ढिला भयो भन्दै जवाफ फर्काएर बालकोट पुग्नुभयो बालकोटबाटै उहाँ प्रधधानमन्त्रीका लागि १६९ सांसदको समर्थनसहित शितलनिवास पुग्नुभयो ।
कांग्रेसतिर लागेर बालुवाटारबाट बालकोट पर्याउन भूमिका खेल्नुभएका प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव आफै गरेर ओलीले दम्भी होइन, सारै उदार नेताको रुपमा आफूलाइृ स्थापित गरी ढुंगाले हान्नेलाई फुलको थुंगा उपहार दिनुभयो । यी सवै काम ओलीले नै गरिदिनु भयो । ओलीको यो दुरदर्सी निर्णयसँगै सबैभन्दा ठूलो दल कांग्रेस संघमा मात्र होइन, सातै प्रदेशमा प्रतिपक्षी हुनुपर्ने अवस्थामा पुगेको छ ।
महत्वपूर्ण संवैधानिक पद पनि हातमा नपर्ने निश्चित छ । चुनावअघि प्रचण्डको एउटा भनाइ चर्चित भएको थियो, ‘माओवादी निर्णायक तेस्रो शक्ति बन्नेछ ।’ परिणाम अपेक्षाकृत नआए पनि माओवादी निर्णायक तेस्रो शक्ति भने बन्यो । चुनावका बेला गोरखामा प्रधानमन्त्री बनेर आउने भनेको उहाँको भनाइ सही बन्ने भयो ।
संविधानको धारा ७६ (२) बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझै दाहाललाई प्रधामन्त्री नियुक्त गर्नुभएको छ । उहाँको आज सोमबार ४ बजे शपथग्रहण तय गरिएको छ । अन्तत : ‘प्रचण्ड’ ४४ औं प्रधानमन्त्री हुनुभएको छ । एमालेको नेतृत्वमा बनेको नयाँ गठबन्धनबाट प्रचण्डको हातमा सत्ताको चाँबी पुगेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको समर्थनमा ‘प्रचण्ड’ तेस्रो पटक प्रधानमन्त्री हुनुभएको छ । एमालेसहित १ सय ६९ प्रतिनिधिसभाका सदस्यको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्नुभएको हो ।
२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १ सय ३८ चाहिन्छ । प्रधानमन्त्री पाएको माओवादी केन्द्रको ३२ सिट छ । प्रधानमन्त्री बनेका प्रचण्डलाई एमालेको ७८, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राष्ट्रिय प्रजातन्त्र पार्टीको १४, जनता समाजवादी पार्टीको १२, जनमत पार्टीको ६, नागरिक उन्मुक्ति पार्टीको ४ र तीन जना स्वतन्त्र सांसदको समर्थन छ। संविधानको धारा ७६ को उपधारा (२) बमोजिम नियुक्त प्रधानमन्त्रीले त्यसरी नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नु पर्नेछ ।
यो घटनाक्रम अघि पाँचदलीय गठबन्धनबाटै सरकार बनाउने प्रयास अन्तिमसम्म जारी थियो । निर्वाचनअघि कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष दाहालले मौखिक रूपमा सहमति पनि गर्नुभएको थियो– निर्वाचनपछि सत्ता प्रचण्डलाई दिने भनेर । पछिल्लो समय दुवै प्रधानमन्त्री आफैं हुनुपर्ने अडानमा थिए । कांग्रेसले आलोपालो सरकारको नेतृत्व गर्ने मौखिक सहमति गरे पनि पहिलो कार्यकाल छाड्न नमान्दा सत्ता फुत्किएको छ। अर्कोतिर राष्ट्रपति र प्रधानमन्त्री दुवै राख्न खोज्दा पनि कांग्रेसको हातबाट सबै गुमेको छ।

आइतबार अपराह्नसम्म कांग्रेसका नेतामा गठबन्धन टुट्छ भन्ने विश्वास नै थिएन । एमसीसी पारित गरेजस्तै दाहालले बाध्य भएर देउवालाई स्वीकार गर्छन भन्ने थियो तर दाहालको कुनै पनि हालतमा प्रधानमन्त्री आफूले पहिलो पटक नै प्रधानमन्त्री पाउनुपर्छ भन्ने अडानबाट पछि हटेनन । उहाँ चुनावी पाँचदलीय गठबन्धनलाई छोडेर एमालेसँग नयाँ गठबन्धन गर्न ओली निवास बालकोट पुग्नुभयो ।
बालकोटमा नै यो सातदलीय नयाँ गठबन्धन बन्यो । बालकोटमा एमालेको नेतृत्वमा ३ स्वतन्त्र सांसदसहित ७ दलले दाहाललाई प्रधानमन्त्री बनाउन सहमति गरे । कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन जोगाउन सभापति देउवा नै इमान्दार नभएको र प्रचण्डलाई धोका दिँदा यो अवस्था सिर्जना भएको प्रतिक्रिया दिनुभएको छ ।
नयाँ समीकरणमा प्रधानमन्त्री माओवादी केन्द्रले पाएपछि अब राष्ट्रपति र सभामुख लगायतका पावर सेयरिङ कसरी हुन्छ ? भन्ने चाँसो देखिएको छ । प्रधानमन्त्री पनि आधा–आधा कार्यकाल खाने भद्र सहमति भएको छ । पहिलो अढाई वर्ष प्रचण्ड र अर्को अढाई वर्ष ओलीले प्रधानमन्त्री लिने मौखिक सहमति भएको हो । यसलाई लिखित रूप भने दिइएको छैन ।
उपराष्ट्रपति, उपसभामुख, राष्ट्रियसभाको उपाध्यक्ष, सातै प्रदेशका मुख्यमन्त्री, प्रदेश प्रमुख, प्रदेशका सभामुखलगायत नयाँ समीकरणबाट बाँडफाँट हुनेछ । यो गठबन्धनको राष्ट्रपतिदेखि सातबाटै प्रदेशमा बहुमत पुग्छ । राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्र नै निर्णायक छ ।













प्रतिक्रिया दिनुहोस्