काठमाडौं, साउन २ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारले जनहितविपरीत वा त्रुटिपूर्ण निर्णय गरे त्यसलाई सच्याइने स्पष्ट पार्नुभएको छ। उहाँले पार्टीका वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारको नियतमाथि अनावश्यक शङ्का नगर्न आग्रह गर्दै सरकारका निर्णयहरूको उद्देश्य जनताको हित नै रहेको बताउनुभएको हो।
शुक्रवार रौतहटका पार्टी नेताहरूसँगको कुराकानीमा उहाँले सरकारले धेरै सकारात्मक निर्णय गर्ने क्रममा कहिलेकाहीँ केही कमजोरी हुन सक्ने स्वीकार गर्दै त्यस्ता निर्णय आवश्यक परे सुधार गर्न सकिने बताउनुभयो। सरकारका निर्णयबाट जनतालाई लाभभन्दा हानि पुग्ने अवस्था देखिएमा त्यस्ता निर्णय परिवर्तन गर्न सरकार तयार रहने उहाँको भनाइ छ। “सरकारका निर्णयमा कहिलेकाहीँ समस्या आउन सक्छ। त्यसलाई सच्याउन सकिन्छ। तर नियत खराब हुनुहुँदैन। नियत नै खराब भयो भने त्यसलाई सुधार्ने आधार रहँदैन,” उहाँले भन्नुभयो।
सभापति लामिछानेले नेतृत्वले सकारात्मक उद्देश्यका साथ निर्णय गरे पनि कार्यान्वयनका क्रममा आउने चुनौतीका कारण कतिपय निर्णयप्रति नकारात्मक भाष्य बन्न सक्ने उल्लेख गर्नुभयो। सुरुमा विवादित बनेका धेरै निर्णय समयक्रममा सही साबित भएका उदाहरणहरू रहेको उहाँले बताउनुभयो।
उहाँले सरकारले अवलम्बन गरेका कुनै पनि नीति तथा कार्यक्रमले किसान, मजदुर, गरिब तथा विपन्न वर्गलाई अप्ठ्यारो पार्ने अवस्था सिर्जना भएमा त्यस्ता नीतिहरू पुनरावलोकन गरी आवश्यक संशोधन गरिने स्पष्ट पार्नुभयो।
यसैगरी, उहाँले पार्टीका नेता तथा कार्यकर्तालाई सरकारका गतिविधिप्रति निरन्तर खबरदारी गर्न पनि आग्रह गर्नुभयो। मन्त्रालय वा मन्त्रीबाट भएका कमजोरीप्रति ध्यानाकर्षण गराउँदा पनि सुधार नभए पार्टीले आफ्नो अभिभावकीय भूमिका निर्वाह गर्ने उहाँको भनाइ छ।
“ध्यानाकर्षण गराउँदा पनि कामकारबाही भएन, मन्त्री वा मन्त्रालयबाट सुधार भएन भने पार्टी छ। पार्टीले आफ्नो अभिभावकत्व लिनबाट कहिल्यै पछि हट्दैन। पार्टी अभिभावक हो, आवश्यक निर्णय पार्टीले नै गर्नेछ,” उहाँले भन्नुभयो।













प्रतिक्रिया दिनुहोस्