जनता टाइम्स

१७ पुष २०७९, आईतवार १६:३०

कांग्रेसका चार केन्द्रीय सदस्य र दुई जिल्ला सभापतिमाथि कार्वाही गर्न जिल्लाको सिफारिश


काठमाडौं, पुस १७ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन आयोगमा चार केन्द्रीय सदस्य र दुई जिल्ला अध्यक्षमाथि कार्वाही गर्न जिल्ला समितिले सिफारिश गरेका छन ।

चुनावमा अन्तर्घात गर्नेहरूको नामावली पठाउन कांग्रेस केन्द्रीय कार्यालयले एक महिना समय थप दिएकोमा हालसम्म चार केन्द्रीय सदस्य र दुई जिल्ला सभापतिमाथि कारबाहीको सिफारिस भएको हो ।

कांग्रेस केन्द्रीय अनुशासन आयोगका अनुसार केन्द्रीय सदस्यहरु मधु आचार्य, गणेश लामा, अजयबाबु शिवाकोटी र आङगेलु शेर्पामाथि कार्वाही गर्न सम्बन्धित जिल्ला समितिले सिफारिश गरेका हुन । कांग्रेस काभ्रे जिल्ला कार्य समितिले दुई जना केन्द्रीय सदस्य मधु आचार्य र गणेश लामामाथि कारबाहीको सिफारिस गरेको हो ।

आचार्यले प्रतिनिधि सभामा गठबन्धनबाट कांग्रेस उम्मेदवार बन्नुभएका शिव हुमागाईंलाई हराउन भूमिका खेलेको आरोप जिल्ला समितिले लगाएको छ । यसैगरी अर्का केन्द्रीय सदस्य गणेश लामाले जिल्ला सभापति तीर्थ लामालाई प्रदेश सभा सदस्य हराउन खोजेको आरोपमा कार्वाहीको सिफारिश गरिएको हो । तीर्थ एमालेका चन्द्र लामालाई जम्मा २ मतले मात्र बिजयी हुनुभएको थियो । काभ्रे कांग्रेसले प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री कन्चनबादे श्रेष्ठमाथि पनि कारबाही सिफारिस गरेको छ ।

आयोगका अनुसार सोलुखुम्बुका केन्द्रीय सदस्य आङगेलु शेर्पा र जिल्ला सभापतिमाथि नै कारबाही गर्न सिफारिस परेको छ । जिल्ला सचिव भलाकाजी राई र युवराज घिमिरेले संयुक्त रूपमा केन्द्रीय अनुशासन आयोगमा केन्द्रीय सदस्य शेर्पा र जिल्ला सभापति नाम्गले जाङ्बु शेर्पामाथि कारबाहीको सिफारिस गर्नुभएको हो ।

केन्द्रीय सदस्य र जिल्ला सभापतिले कांग्रेस नेता बलबहादुर केसीलाई पराजित गर्न भूमिका खेलेको आरोपमा कार्वाही सिफारिश गरिएको हो । सोलुखुम्बुमा गठबन्धनका उम्मेदवार केसीलाई एमालेका मानवीर राईले पराजीत गर्नुभएपछि कांग्रेसमा एकअर्कामाथि आरोपको बर्षा नै लागेको छ ।

यसैगरी कपिलवस्तुका जिल्ला सभापति अब्दुल कलाम आजाद पनि कार्वाहीको सिफारिशमा पर्नुभएको छ । कपिलबस्तुमा पराजित उम्मेदवार अभिषेक प्रताप शाहले जिल्ला सभापति कलामसहित नेताहरू विरेन्द्र कनौडिया, जिल्ला उपसभापति हुमकान्त खनाल, सचिव प्रेमबहादुर रायमाझी,क्षेत्रीय सभापति ब्रह्मानन्द पाण्डेमाथि अन्तर्घातको आरोप लगाउँदै उजुरी दिनुभएको हो ।

यसैगरी दोलखाका कांग्रेस जिल्ला सभापति बर्मा लामाले केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीमाथि कारबाहीको माग गर्नुभएको हो । सभापति लामाले शिवाकोटीले अन्तर्घात गरेर आफूलाई प्रदेश सभा सदस्यमा पराजित गरेको आरोप लगाउनु भएको हो । लामाले सार्वजनिक रुपमै अन्तघातीहरुको हात काटेर फाल्ने बताउँदै आउनु भएको छ ।

दोलखाको प्रदेशसभा ख बाट उम्मेदवार बन्नुभएका कांग्रेस जिल्ला सभापति लामा नेकपा एमालेका नेता भरत केसीसँग भारी मतान्तरले पराजीत हुनुभएको थियो ।