जनता टाइम्स

१३ माघ २०७९, शुक्रबार १९:२३

बालुवाटार जाँदै रवि, पदबाट राजीनामा दिने


काठमाडौं, १३ माघ । अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्त नगरी खारेज भइसकेको नागरिकता प्रयोग गरेर नेपाली नागरिकका रुपमा सबै सेवा लिइरहेका रवि लामिछानेको उपप्रधान एवम् गृहमन्त्री तथा सांसद पद खारेज भएको छ । पद खारेज भएसँगै लामिछाने राजीनामा दिन बालुवाटार जानुहुने भएको छ ।

उहाँका स्वकीय सचिव प्रकाश सिग्देलले लामिछाने पदबाट राजीनामा दिन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार जाँदै गरेको बताउनुभयो । संवैधानिक इजलासको फैसलासँगै रवि लामिछानेको मन्त्री तथा सांसद पद खारेज भएको छ । त्यस्तै उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बन्न समेत अयोग्य हुनुभएको छ ।

लामिछानेविरुद्ध अधिवक्ता रविराज बसौलाले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरू विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्ह हुनुहुन्थ्यो ।