जनता टाइम्स

१६ फाल्गुन २०७९, मंगलवार १७:१६

गीतकार सागर उदासका दुई कृति लोकार्पण


फागुन १६ तनहुँ । दमौलीका सागर उदासका दुई कृति ‘सागर सुसेली’ र ‘फैलिन्छ कि माया’ सार्वजनिक भएका छन् । राजधानीमा एक कार्यक्रममार्फत उहाँका दुई कृतिहरू एकसाथ विमोचन भएको हो । गीति सङ्ग्रह ‘सागर सुसेली’ मा १०९ वटा श्रृजना समेटिएका छन् । ४ वर्ष अगाडि कृतिबारे सम्पूर्ण तयारी भए पनि कोभिड र विविध कारणले ढिलाइ भएको गीतकार सागर उदासले विमोचन समारोहमा बताउनुभयो ।

अर्को कृति ‘फैलिन्छ कि माया’ मा १२३ वटा श्रृजनाहरू छन् । कृतिमा मन–मुटु, माया–प्रेम, राष्ट्र–प्रेम र कोभिड्का पीडाहरू झल्किएका छन् । उहाँको दर्जनौं गीत रेकर्ड भइसकेका छन् । गण्डकी वाङ्मयय प्रतिष्ठानका अध्यक्ष उदासले आफ्नो व्यवसायिक कर्मसँगै साहित्य, पर्यटन प्रवर्द्धनमा समेत पनि उत्तिकै क्रियाशिल छन् ।

विसं २०५० मा रेकर्ड भएका उहाँका पहिलो गीत आइसिंह लामाको संगीतमा देवकुमार लामाले गाएका ‘हिँडेको छु छातिभरि व्यथाहरू बोकी, जिन्दगीको परिभाषा दुःख मात्रै हो कि’ हो । सागर उदासका पहिलो कृति ‘सागरका गीतहरू’ २०५२ सालमा प्रकाशित भएको थियो ।

उहाँले २०६० सालमा ‘आभार’ नामक पहिलो गीति एल्बम र २०७० मा दोस्रो एल्बम ‘रवी’ रेकर्ड गर्नुभएको थियो । विमोचन कार्यक्रममा वरिष्ठ साहित्यकार तथा गजलकार ललिजन रावल, वसन्त वित्यासी थापा अध्यक्ष गीतकार संघ नेपाल, बिबि अनुरागी वरिष्ठ संगीतकार, राजन राज शिवाकोटी गायक, तारा प्रसाद वस्ती सहित्यकार, कन्सेप्ट नेपालका संयोजक पवन शाक्य लगायतले सागर उदासको गीति संग्रहको चर्चा गर्नुभएको थियो ।