जनता टाइम्स

२२ असार २०८२, आईतवार १०:०४

सुनसरीको मुरा खोलामा डुबेर दुई बालकको मृत्यु


काठमाडाैं, २२ असार। सुनसरीको इटहरीमा पौडी खेल्ने क्रममा खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ। शनिबार दिउँसो इटहरी उपमहानगरपालिका–१६ स्थित मुरा खोलामा डुबेर उनीहरूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार डुबेर ज्यान गुमाउनेमा इटहरी–१६ का ९ वर्षीय युनिस खत्री र इटहरी–५ का ११ वर्षीय हेमबहादुर परियार (बिसु परियार) रहेका छन्। रमेश खत्रीका छोरा युनिस र बुद्धि परियारका छोरा हेमबहादुर साथीसाथी पौडी खेल्न गएका थिए। खोलाको गहिरो दहमा डुबेर उनीहरूको मृत्यु भएको हो।

स्थानीयले देखेपछि तत्काल उद्धार गरेर सान्बी सिटी अस्पताल इटहरी पुर्‍याइएका दुवै बालकलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार मृतकको शव पोष्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।