रामेछाप, २२ असार । खाँडादेवी गाउँपालिकाको शिक्षा शाखाबाट सञ्चालित ‘उत्कृष्ट विद्यालय पुरस्कार वितरण तथा सम्मान कार्यक्रम’ आइतबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ रहनुभएको थियो भने विशेष अतिथिका रूपमा उपाध्यक्ष रमा घिसिङ लगायतकाे उपस्थिति रहेको थियो ।
कार्यक्रममा पालिका भित्रका विभिन्न विद्यालयहरू र विद्यार्थीहरूलाई शिक्षामा पुर्याएको योगदान र उपलब्धिको आधारमा नगद पुरस्कारसहित सम्मान गरिएको हो ।
खाँडादेवी गाउँपालिका वडा नम्बर १ मा अवस्थित श्री मावि राकाथुमले पालिकाभरकै उत्कृष्ट विद्यालयको उपाधि प्राप्त गर्दै नगद पुरस्कारस्वरूप २ लाख रुपैँया प्राप्त गर्न सफल भएको छ । साथै कक्षा ८ सम्मका विद्यालयहरूको मूल्याङ्कनमा पनि श्री मावि राकाथुम प्रथम भएको छ । साे उपलब्धिसँगै विद्यालयले थप १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
कक्षा ८ सम्मको प्रतिस्पर्धामा द्वितीय स्थान प्राप्त गर्न सफल श्री बागेश्वरी आधारभूत विद्यालय राकाथुमलाई ९० हजार रुपैयाँ तथा तृतीय स्थान प्राप्त गर्न सफल श्री कालिका देवी आधारभूत विद्यालय गागललाई ७५ हजार रुपैयाँ प्रदान गरिएको छ ।
स्रोत केन्द्रस्तरीय मूल्याङ्कनमा श्री गोपी आधारभूत विद्यालयले कक्षा १ देखि ५ सम्मका विद्यालयहरूमध्ये राकाथुम स्रोत केन्द्रमा प्रथम स्थान हासिल गर्न सफल भएको छ । साे विद्यालयले स्रोत केन्द्रस्तरमा उत्कृष्ट प्रदर्शन गर्दै सम्मान प्राप्त गरेको हो ।
साेही कार्यक्रममा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट अङ्क ल्याउने खाँडादेवी गाउँपालिकाभित्रका तीन जना विद्यार्थीलाई पनि नगदसहित सम्मान गरिएको छ । श्री मावि राकाथुमका सुप्रिया श्रेष्ठले ३.८५ ग्रेड प्वाइन्ट हासिल गर्दै पालिकाभरकै सर्वाधिक अङ्क ल्याउन सफल हुनुभएको छ ।
उहाँसँगै सुस्मिता थापा मगर र प्रदीप श्रेष्ठले समान ३.८३ ग्रेड प्वाइन्ट ल्याई सम्मान प्राप्त गर्नुभएको हो । यीमध्ये सुप्रिया श्रेष्ठले रामेछाप जिल्लाभरकै दोस्रो स्थान पनि हासिल गर्नुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष श्रेष्ठले खाँडादेवी गाउँपालिकाले शिक्षालाई प्रमुख प्राथमिकतामा राख्दै विद्यालयको गुणस्तर अभिवृद्धि तथा विद्यार्थीको समग्र विकासमा निरन्तर काम गरिरहेको बताउनुभयो । उहाँले यस्ता पुरस्कार तथा सम्मान कार्यक्रमहरूले विद्यालयहरूलाई अझ प्रतिस्पर्धात्मक र उत्तरदायी बनाउने विश्वास व्यक्त गर्नुभयो ।
विशेष अतिथि घिसिङले विद्यार्थीहरूलाई थप मिहिनेत गर्न प्रेरणा दिनुहुँदै शिक्षामा देखाएको सक्रियता सराहनीय रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा पालिकाका वडाध्यक्षहरू, विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी सबैले शिक्षाको स्तर उकास्न सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिनुभयाे ।
प्रतिक्रिया दिनुहोस्