जनता टाइम्स

२७ फाल्गुन २०७९, शनिबार १५:४३

नवनिर्वाचित राष्ट्रपति पौडेलले गरे पुष्पलालको शालिकमा माल्यार्पण


काठमाडौं, २७ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुरको चम्पादेविस्थित पुष्पलाल पार्कमा पुगेर नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको शालिकमा माल्यार्पण गर्नुभएको छ ।

पौडेल पार्क पुग्दा पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपाल, नेकपा (एकीकृत समाजवादी) का महासचिव वेदुराम भुसाल, काठमाडौ क्षेत्र नम्बर १० का प्रतिनिधिसभा सदस्य राजन केसीलगायतले स्वागत गर्नुभएको हो । नवनिर्वाचित राष्ट्रपति पौडेलले पार्क, प्रतिष्ठानको भवनको अवलोकन गर्नुभयो ।

उहाँले त्यहाँ राखिएको पुस्तिकामा हस्ताक्षरसमेत गर्नुभएको छ । यसअघि, शुक्रबार पौडेलले पशुपतिनाथ मन्दिर र गुहेश्वरी मन्दिर पुगेर पूजा अर्चना गर्नुभएको थियो ।

लगत्तै पौडेलले सुन्दरीजलस्थित बीपी संग्रहालय पुगेर बीपी, गणेशमान, कृष्णप्रसाद भट्टराईलगायतका नेताहरूको सालिकमा माल्यार्पण गर्नुका साथै संग्रहालय परिसरमा वृक्षारोपण गर्नुभएको थियो । त्यस्तै बेलुकी साँझ विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ क्षेत्रको अवलोकन गर्नुभएको थियो ।