काठमाडौ, फागुन २७ । उपराष्ट्रपतिका उम्मेदवार जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादवको उम्मेदवारी संविधान र कानुनविपरीत रहेको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ ।
उपराष्ट्रपति पदका लागि एमालेबाट उम्मेदवारी दिनुभएका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यका प्रतिनिधि एवं सांसद महेश बर्तौलाले नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा आज यादवबिरुद्ध उजुरी दर्ता गर्नुभएको हो ।
यद्यपि जसपाबाट उम्मेदवारी दिएका यादवको नाममा शुक्रबार नै प्रश्न उठ्न थालेपछि जसपाबाटै प्रमिला यादवले पनि उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराउनु भएको छ । राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेकाले उपराष्ट्रपति पनि पुरुष हुन नहुने भन्दै एमालेले जसपाका उम्मेदवार यादवविरुद्ध उजुरी दिएको हो । साथै यादवको उम्मेदवारी कानुनविपरीत रहेको एमालेको दाबी छ ।
निर्वाचन आयोगले राष्ट्रपति पुरुष निर्वाचित भइसकेको जनाउँदै उपराष्ट्रपतिमा महिला नै उम्मेदवार हुनुपर्ने अडान लिँदै आएको छ । सोही कारण जसपाले महिलालाई पनि उम्मेदवार बनाएको छ । ९ दलीय गठबन्धनका शीर्ष नेताहरूले कांग्रेसलाई राष्ट्रपतिमा निर्वाचित गरेर जसपालाई उपराष्ट्रपतिमा सहयोग गर्ने सहमति गरेका थिए ।
एमालेबाट उपराष्ट्रपतिमा शाक्यले उम्मेदवारी दर्ता गराउनु भएको छ । उपराष्ट्रपति निर्वाचनको तयारीका सन्दर्भमा आइतबार उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । त्यस्तै चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुनेछ । एमालेले आज बिहान एमालेले उपाध्यक्ष शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
शाक्यको प्रस्तावकमा अध्यक्ष ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, नेताहरु छविलाल विश्वकर्मा, गोकर्ण विष्ट र रघुवीर महासेठ हुनुहुन्छ । त्यस्तै, समर्थकममा कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने र यशोदा रिजाल हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्