जनता टाइम्स

१६ बैशाख २०८०, शनिबार १३:४७

किर्ते कागजपत्रमा दोषी पूर्व सांसद खातुन जेल चलान


बिराटनगर, १६ बैशाख । नेकपा एमालेका निवर्तमान प्रदेश सभा सदस्य गुलफेन खातुन जेल चलान हुनुभएको छ ।

सरकारी कागज किर्ते तथा नक्कल गरेको अभियोगमा जिल्ला अदालत, मोरङ तथा उच्च अदालत बिराटनगरको फैसलामा दोषी देखिएकी कोशी प्रदेशका पूर्व सांसद खातुन जेल चलान हुनुभएको हो। उहाँ आफै आत्मसमपर्ण गर्न शुक्रवार अदालतमा पुग्नुभएको थियो ।

जिल्ला अदालत मोरङका जिल्ला न्यायधिस अम्बिकाप्रसाद निरौलाले २०७४ बैशाख ३१ गतेको फैसला अनुसार सांसद खातुनसहित उहाँका श्रीमान शेख शिलबर मियाँ, तत्कालिन गाबिस सचिब बिजय कामत र दिपचन्द्र मण्डललाई १ बर्ष जेल सजायँ फैसाला गर्नुभएको थियो ।

जिल्ला अदालतको फैसाला बिरुद्ध पुनरावेदन गर्न उच्च अदालत गएपनि विराटनगर उच्च अदालतले २०७४ पुस ९ गते जिल्लाको सोही फैसला नै सदर गरिदिएको थियो । सो अदालतले सरकारी कर्मचारी भएका कारण पूर्व गाविस सचिव कामत र मण्डललाई भने २ बर्षको सजाय तोकिदिएको छ ।

मोरङ जिल्ला अदालका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले पुर्व प्रदेश सभा सदस्य खातुन स्वयं उपस्थित हुन अदालतमा आएको र अदालतले आवाश्यक प्रक्रिया पुरा गरी कैद भुक्तान का लागि कारागार पठाएको बताउनुभयो ।

तत्कालिन कटहरी गाउँपालिकास्थित मधुसूदनराज पाण्डेको ३ विगाह १० कट्ठा मोही जग्गा हत्याउनका लागि उहाँले गरेको सरकारी कागजपत्र किर्ते गरेको पछि खुल्न आएको थियो । २०७१ चैत ४ गते तत्कालिन कदमाह गाउँ विकास समितिका सचिवले सो कागजपत्र किर्ते गराउन भुमिका खेलेको अदालतले ठहर गर्दैै जेल सजायँ तोकेको हो ।