जनता टाइम्स

३ असार २०८०, आईतवार ०८:२०

पाँचथर बाढीमा ६ जना बेपत्ता : घर बगे, ठाँउ ठाँउका पुल भत्किए


फिदिम, असार ३ । अविरल वर्षासँगै आएको बाढीले पाँचथरमा ठूलो क्षति भएको छ । बाढीले बगाँउदा हालसम्म ६ जना मानिस बेपत्ता भएका छन भने ठाँउ ठाँउका पुल बगेका छन।

हेवा खोलामा आएको बाढीमा परेर हिलिहाङ ७ का दिलकुमार तामाङ र फिदिम १० का सन्जोग लोवासहित सहित ६ जना बेपत्ता भएका छन ।

बाढीले फिदिम ४ हेवा खोलामा गिटी कुटेर गुजारा चलाँउदै आएका एक, फालेलुङ ३ मा एक र फिदिम ४ माझीटारमा २ गरी ६ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

बाढीले मेची राजमार्ग अन्तरगत पाँचथर र ताप्लेजुङ जाने बाटोमा पर्ने हेँवा खोला पुल भत्काएको छ । यस्तै फालेलुङ गाउँपालिकाको लुमाङदिन र घुमाउनेमा दुइवटा मोटरएवल र एउटा झोलुङगे पुल बगाएको प्रहरीले जनाएको छ ।

यस्तै याङवरक गाउँपालिका ३ र २ मा ठूलो परिमाणमा घर बगाएको भएपनि क्षतिको विवरण यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।