अस्थिर सरकारी नीतिका कारण विदेश सम्बन्धमा हुने उतारचढाव र हाम्रो अर्थतन्त्रको अन्तरनिर्भरताका कारण निरन्तर संकटमा फस्ने अवस्थाबाट देशलाई मुक्त राख्न पनि राजनीतिक दलहरुबीच नयाँ खालको राष्ट्रिय सहमतिको विन्दू तय हुन जरुरी छ । कम्युनिष्ट पार्टी तथा समाजवादी राजनीतिक शक्तिहरुबीचको ध्रुवीकरण र एकता तथा सिंगै बामपन्थी आन्दोलनको नयाँ किसिमको केन्द्रीकरणमार्फत समाजवादतर्फ प्रस्थान गर्न मदन भण्डारीको विचार, सिद्धान्त र संगठनको अवलम्बन गर्नेतर्फ साझा दृष्टि पुग्न जरुरी छ । यो नै जनताको बहुदलीय जनवादका प्रणेता कमरेड मदन भण्डारी प्रतिको सम्मान र श्रद्धाञ्जली हुनेछ ।
सुनिता बराल
नेपाल पुँजीवादी सामाजिक विकासको अवस्थाबाट समाजवादी स्वरुपमा रुपान्तरित हुँदै गरेको छ । विशेष गरी ०६२÷०६३ को जनआन्दोलन र त्यसपछिका राजनीतिक तथा प्रशासनिक सुदृढीकरणले व्यवस्था गरिएका रुपान्तरित अवस्थाहरुले सामाजिक रुपान्तरणको समाजवादी चरण अब कसैले रोकेर रोक्न नसक्ने अवस्थामा छ । अभ्यासहरुका हिसावले सोंच र शैलीमा रहेका पुँजीवादी प्रभाव र सामन्तवादी अवशेषहरु पनि विस्तारै खतम हुने अवस्था निर्माण भएको छ । यो विशेष गरी कम्युनिष्ट पार्टीहरुको पक्षमा रहेको जनविश्वासको परिणाम हो । ०६४ सालमा भएको संविधानसभा निर्वाचनबाट निर्वाचित संविधानसभाको सिकाइ र ०७० को संविधानसभा निर्वाचनबाट निर्वाचित राजनीतिक नेतृत्वको पहलकदमीमा समाजवाद उन्मुख अर्थव्यवस्था अवलम्बन गर्ने गरी संविधान जारी गर्न सक्नुमा कम्युनिष्ट पार्टीहरुको सहभागिता मुख्य सबल पक्ष थियो ।
सशस्त्र जनयुद्ध र जनविद्रोहको माध्यमबाट शासन सत्तामा श्रमजीवी मजदुर तथा किसान वर्गको अधिनायकत्व स्थापित गर्दै कम्युनिष्ट पार्टीहरुले समाजवादी शासनसत्ता सञ्चालन गरेका विश्व इतिहास कम्युनिष्टहरुलाई आलोचना गर्ने विषय बनेका थिए । केही समाजवादी मुलुकहरुका शासन अभ्यासहरुकै आधारमा सामन्तवादी शासक र पुँजीवादी आसेपासेहरुले चलाएका अनेक हल्लाहरुलाई चिर्दै कम्युनिष्टहरुलाई पुँजीवादीसंग प्रतिष्पर्धा गरेर विद्यमान व्यवस्थाहरुमै स्थापित गराएर शान्तिपूर्ण रुपान्तरण गराउन सक्नु जनयुद्ध र जनविद्रोह भन्दा महत्वपूर्ण पक्ष हो ।
संसारभर कम्युनिष्ट पार्टीहरुको सत्ता ढलिरहेका बेला नेपालमा समाजवाद स्थापनाको लक्ष्यसहित तत्कालीन व्यवस्थाभित्रै प्रतिष्पर्धाबाट स्थापित हुने सोंचको परिकल्पनाकार कमरेड मदन भण्डारी नेपाली कम्युनिष्ट आन्दोलनका लागि त युगान्तकारी पथप्रदर्शकको रुपमा चिनिनुभएकै छ, विश्वभरको कम्युनिष्ट आन्दोनको लागि नयाँ प्रयोग सिद्ध भएको छ ।
जनताको बहुदलीय जनवादका प्रणेता जननेता मदन भण्डारीले प्रतिपादन गरेको सिद्धान्तले समाजवादको अगुवाइका लागि जनताबीचमा रहनुपर्ने र जनताबीचमा प्रतिष्पर्धात्मक लोकतान्त्रिक विधिबाट स्थापित भईरहने विकल्प अगाडि सार्नुभएको हो । आजको विश्व राजनीतिमा जनपक्षीय राजनीतिक दलहरुले लोकतान्त्रिक र खुला प्रतिष्पर्धालाई अवलम्वन गर्नुको विकल्प छैन । प्रतिष्पर्धाबाट श्रेष्ठता हासिल गर्दै जनताको प्रस्तावका कार्यक्रमहरुलाई जनताको वलमै कार्यान्वयन गर्ने गहनतम अभिभाराबाट आफूलाई पछाडि पार्नु हुन्न ।
जननेता भण्डारीले ५–७ मे १९९३ मा कलकत्तामा आयोजित ‘समकालीन विश्वपरिस्थिति र मार्क्सवादको सार्थकता’ विषयक कार्यपत्रमा उल्लेख गर्नुभएको थियो, ‘मार्क्सवाद विश्वमा असफल भएको होइन, बरु सोभियत नमुना मात्र असफल भएको हो ।’ मार्क्सवादप्रतिको प्रतिबद्धता सँगसँगै उहाँले मार्क्सवादको प्रयोग नेकपा एमालेले नयाँ ढंगले गरिरहेको उल्लेख गर्दै यसका लागि वाम आन्दोलनको ४० वर्ष खर्चिएर जबजका कार्यक्रम तय गरिएको बताउनुभएको थियो । नेपाली राजनीतिमा यतिबेला फेरि पनि बामपन्थी शक्तिहरुबीच फुट र विभाजनका कारण जनता र कार्यकर्तामा निराशा पैदा भईरहेको अवस्थामा लोकतान्त्रिक विधिलाई अवलम्बन गर्ने सम्पूर्ण बामपन्थी शक्तिहरु एकढिक्का हुन समेत जबजबाट प्रेरणा लिन सक्नुपर्छ ।
मदन भण्डारीले सुरु गर्नुभएको जबज नेपालका लागि मात्र नभै विश्व कम्युनिष्ट आन्दोलनकै लागि प्रेरक विचार बनेको छ । त्यसको एक दृष्टान्त अमेरिकी पत्रिका ‘न्युजविक’ ले २७ मे १९९१ मा गरेको प्रकाशन हो । ‘नेपाल, जहाँ कार्ल मार्क्स जीवित छन’ शीर्षकमा छापेको जननेता भण्डारीको अन्तर्वार्ताले विश्वलाई नयाँ सन्देश दिएको थियो । तर विश्व राजनीतिले मदनको विचारलाई लामो समय अनुसरण गर्ने प्रत्यक्ष मौका पाएन । मदन भण्डारीको राजनीतिक, वैचारिक र सांगठानिक अभ्यासलाई अनुसरण गर्ने मौका नेपाली कम्युनिष्ट आन्दोलनले पनि लामो समय पाएन । मदन भण्डारीको असामयिक निधन पश्चात नेपाली कम्युनिष्ट आन्दोलनमा फुट विसर्जनको एउटा धार र उग्र बामपन्थको अर्काे धार अलगअलग ढंगले अगाडि बढे । यसरी अलग अलग ढंगले बढेका दुई उग्रवादी धारहरु पनि समयक्रममा क्षय हुँदै अन्ततः मदन भण्डारीले लिएको प्रतिष्पर्धात्मक बहुदलीय राजनीतिक प्रणाली स्वीकार्ने तहमा आइपुगे ।
नेपाली राजनीतिमा विशेष गरी नेकपा एमालेले आफ्नो मार्गदर्शक सिद्धान्तको रुपमा नेपाली मौलिक सिद्धान्त विकास गरेर मार्क्सवाद लेनिनवादको आलोकमा जनताको बहुदलीय जनवादलाई समृद्ध बनाईरहेको छ । जनताको बहुदलीय जनवाद (जबज)कै जगमा पार्टीका स्थानीय कमिटीहरु जनताका बीचमा स्थापित छन् । हरेक कमिटिमा लोकतान्त्रिक प्रणाली छ । पार्टीमा बहुमतको नेतृत्व र अल्पमतको कदर गर्ने परिपाटी छ भने सरकारमा बहुमतको नेतृत्व र अल्पमतको प्रतिपक्षको नीतिअनुरुपको दृष्टिकोण छ ।
जनताको बहुदलीय जनवाद नेपाली क्रान्तिको मौलिक र माटो सुहाउँदो कार्यक्रम हो । यसले बहुदलीय पुँजीवादी जनवादी क्रान्तिको कार्यक्रमभन्दा भिन्न विशेषता ग्रहण गरेको छ । संविधानको सर्वोच्चता, बहुलवादी खुला समाज, शक्ति पृथकीकरणको सिद्धान्त, स्वाधीनता, मानवाधिकारको रक्षा, आवधिक निर्वाचन, स्वाभिमानमा आधारित विदेशनीति आदि यसका विशेषता हुन् । यी सैद्धान्तिक विशेषतालाई कम्युनिस्ट आन्दोलनको लोकतान्त्रीकरण कार्यक्रम भनेर पुँजीवादी देशहरुले समेत नेपाली कम्युनिष्टहरुप्रति घृणा गर्ने अवस्थाबाट नेकपा एमालेलाई माथि उठायो ।
यतिबेला नेपाली कम्युनिष्ट पार्टीहरुले विद्यमान राजनीतिक उपलब्धिलाई आधार मानेर यो व्यवस्थालाई सुदृढीकरण गर्नुको विकल्प छैन । विद्यमान व्यवस्थामाथि आइलागेका खतराहरुलाई प्रतिकार गर्न पनि जनताको जनवादी व्यवस्थाको सुदृढीकरणका एजेण्डा सहित बामपन्थी शक्तिहरुसंग खुला र पारस्परिक हितको दृष्टिबाट सहकार्यको नीति लिन जरुरी छ । नेपाली कम्युनिष्ट आन्दोलनको अगुवा र नेतृत्वदायी शक्ति भएका कारण यो जिम्मेवारी नेकपा एमालेको काँधमा छ ।
नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओलीले हालैका दिनमा पनि आफू अपमान र हारलाई लिएर कहिल्यै बदलाभाव लिने व्यक्ति नभएको बताउनुभएको छ । यो सम्पूर्ण बामपन्थीहरुको लागि सहकार्यको खुला प्रस्ताव जस्तै हो । विगतका सम्पूर्ण तितामिठा कुराहरुलाई छाडेर कम्युनिष्ट आन्दोलनमा एकाकार हुन सम्पूर्ण बामपन्थी विचार राख्नेहरुलाई गरिएको यो आह्वानले पनि नेपाली कम्युनिष्ट पार्टीभित्रको लोकतान्त्रिक चरित्र र नेतृत्वको लोकतान्त्रिकरणको रुपमा लिन सकिन्छ ।
प्रतिष्पर्धात्मक विधिबाट देशैभरका सम्पूर्ण जनप्रतिनिधिमूलक संस्थाहरुमा पार्टीको उपस्थितिमार्फत जनताको जनवादी राज्यसत्ताको स्थापनाका लागि दृढ संकल्पिक रहनु अहिलेको आवश्यकता र मदन भण्डारीको मार्गनिर्देश हो । स्थानीय तह तथा प्रदेश एवम् प्रतिनिधिसभामा निर्वाचित जनप्रतिनिधिहरुले आफूलाई जनताको असली सेवकको रुपमा स्थापित गर्दै जनताको मत जितेरै संसदबाट जनवादी सत्ताको रुपमा समाजवादको स्थापनाका लागि जनप्रतिनिधिको अर्जुनदृष्टि बन्नुपर्ने आवश्यकता छ । यो जबजको आजको मार्गनिर्देश हो । मदन भण्डारीको हिजोको सपना हो ।
आज सिंगै विश्व आर्थिक मन्दीको चपेटामा छ । पुँजीवादी देशहरु समेत एक पछि अर्को आर्थिक संकटमा फसिरहेका छन् । रुस युक्रेन युद्धका कारण सिंगै विश्व वैचारिक रुपमा विभाजित बन्दै गईरहेको छ । संसारभर देशहरु आफ्नो राष्ट्रिय आवश्यकता र नागरिकको अपेक्षाका कारण अन्तरनिर्भर रहेका छन् । यस्तो विश्वव्यापीकरणको चपेटामा सिंगै विश्व फसिरहेका बेला राष्ट्रिय हीतलाई ख्याल राखेर विदेशी पूजी र प्रविधिको प्रयोग गर्नुपर्ने कुरामा नेकपा एमाले आफू सरकारमा रहँदा वा प्रतिपक्षमा हुँदा दृढ छ ।
अस्थिर सरकारी नीतिका कारण विदेश सम्बन्धमा हुने उतारचढाव र हाम्रो अर्थतन्त्रको अन्तरनिर्भरताका कारण निरन्तर संकटमा फस्ने अवस्थाबाट देशलाई मुक्त राख्न पनि राजनीतिक दलहरुबीच नयाँ खालको राष्ट्रिय सहमतिको विन्दू तय हुन जरुरी छ । कम्युनिष्ट पार्टी तथा समाजवादी राजनीतिक शक्तिहरुबीचको ध्रुवीकरण र एकता तथा सिंगै बामपन्थी आन्दोलनको नयाँ किसिमको केन्द्रीकरणमार्फत समाजवादतर्फ प्रस्थान गर्न मदन भण्डारीको विचार, सिद्धान्त र संगठनको अवलम्बन गर्नेतर्फ साझा दृष्टि पुग्न जरुरी छ । यो नै जनताको बहुदलीय जनवादका प्रणेता कमरेड मदन भण्डारी प्रतिको सम्मान र श्रद्धाञ्जली हुनेछ ।
(लेखक बराल नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य हुनुहुन्छ )
प्रतिक्रिया दिनुहोस्